२०८३ कार्तिक १३ गते बिहिबार

दालचिनी बन्दै पाल्पाको हरियो सुन: विदेश छाडेर गाउँमै लाखौँ कमाउँदै किसान

 |  रामचन्द्र रायमाझी
Sanket

रामचन्द्र रायमाझी

काठमाडौँ, असार ११
dalchini

तानसेन: तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए। झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाइ गर्न नसकेपछि घर पर्किए। विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे। उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन्। जीतबहादुर पनि दालचिनी खेतीमै लागे र फर्किएर विदेश जाने साेच त्यागे।

‘अब विदेश जान्नँ। गाउँमै दालचिनीको खेती गर्छु’, घरआँगनमा दालचिनी स्याहार्दै गरेका उनले भने, ‘वार्षिक आठ लाख आफ्नै गाउँमा कमाइ हुँदोरहेछ। किन विदेश गइरहनु ?’ विदेशमै रहेका छोरालाई पनि उनले घर बोलाएको बताए। खरबारी, भिर, कान्लामा लगाएको दालचिनीबाट गत वर्ष आफूले सात लाख रुपैयाँको कारोबार गरेको र विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको उनले बताए।

स्थानीय दमयन्ती दर्लामीले गत वर्ष छोराको बिहे गरिदिनुभयो। बिहेमा झण्डै दुई लाख रुपैयाँ ऋण लाग्यो। उक्त ऋणले दमयन्तीलाई निन्द्रा न भोक नै बनायो। ऋणकै कारण एक वर्षसम्म राम्रोसँग रातमा निदाउन नसकेकी दर्लामी हिजोआज भने राम्रैसँग निद्रा लाग्ने गरेको बताउँछन्। आफ्ना श्रीमानले बारीको काल्नाभरि चार वर्ष अगाडि लगाएको दालचिनीको पात र बोक्राबाट चार लाख रुपैयाँ हात पर्‍यो। ऋण पनि चुक्ता भयो, झन् केही रकम बचत पनि भएपछि आनन्दले निद्रा लागेको उनी आफ्नो अनुभव सुनाउँछन्।

दर्लामीकै आफन्त टीकाराम ढाडाको पनि कथा र व्यथा उस्तै छ। गत वर्ष बर्सातका कारण ओत लाग्ने बासै गयो। त्यही बास बनाउन उनले चार लाख रुपैयाँ ऋण लिनुपर्‍यो। त्यो ऋणले उनीलाई पनि लामो समय बेचैन नै बनायो। भनिन्छ ‘दुख र अफ्ठ्यारोमा परेकाहरूको साथी भगवान हुन्छन्’ भने जस्तै त्यही वर्ष दालचिनी बिक्रीबाट झण्डै तीन लाख र तेजपात बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ हात पर्‍यो। त्यसले सन्तोषको श्वास लिन सकेको उनी बताउँछन्। रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुकी ठूली छोरी कमलाको भविष्यमा नर्स बन्ने सपना थियो। त्यो सपना पूरा गर्न उनीँको पारिवारिक आर्थिक अवस्थाले पुग्दैनथ्यो।

सारुले पाँच वर्षअघि आफ्नो बाँझो जग्गामा दालचिनी लगाएका थिए। दालचिनीबाट राम्रो आम्दानी हुन्छ भन्ने उनले कल्पनासमेत गरेका थिएनन् तर घरमै बुटवलबाट व्यापारी दालचिनीका बोक्रा लिन आएपछि उनले बल्ल यसबाट राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाए। उनले गतवर्ष दालचिनीका पात र बोक्रा बिक्री गरेर रु पाँच लाख आम्दानी गरे। त्यही आम्दानीबाट अहिले छोरीको नर्स बन्ने सपना पूरा गर्दैछन्।

यस्तै निस्दीको ज्यामिरेका खेमबहादुर सोतीले दुई लाख हालेर ल्याएको बेहुनी भैँसी गत वर्ष गोठमा भएको आगलागीमा परेर मर्‍यो। दूध र घ्यू बिक्रीबाट आम्दानी गर्ने सोच बनाएर झण्डै लाखौँँ खर्चेर भैँसी किनेर ल्याउनुभएका उनले भैंसी नै नरहेपछि त्यही भैंसी किन्दा लागेको ऋण तिर्नकै लागि भारत जाने तयारीमा हुनुहुन्थ्यो तर साथीभाइले खेर गएको तेजपातको बिक्रीबाट राम्रो कमाइ हुन्छ भनेपछि उनी रोकिए। नभन्दै गत वर्षको दसैँमा सोतीले तेजपात बिक्रीबाट तीन लाख रुपैयाँ हात पारे। त्यही आम्दानीले भैँसीको ऋण तिर्न सकेको उनी बताउँछन्।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। यहाँका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। एक पटकको लगानी र कम मिहेनतमा पनि यहाँका किसानले वार्षिक पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउन सफल भएका हुन्। खेर गएको जग्गामा लगाएको दालचिनीका बोटबाट पात र बोक्रा बेचेर मनग्य आम्दानी गर्न सकिनेमा किसानहरू पूर्णतः विश्वस्त देखिन्छन्।

भिरालो जग्गा र खेती गर्न नसकिने जग्गामा पनि दालचिनीका बोट लगाएर आम्दानी गर्न सकिने कचलका व्यावसायिक कृषक थर्कबहादुर बगालेले बताए। अन्य खेतीबाट भन्दा दालचिनीबाट फाइदा भएपछि खेतीयोग्य जग्गामा समेत मानिसले दालचिनीका बोट रोप्न थालेको उनले बताए। दालचिनी मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने कच्चा वस्तु हो। दुई रोपनी क्षेत्रफलमा लगाएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। दालचिनी रोपेको तीन वर्षमै आम्दानी गर्न सकिने बगाले बताउँछन्। दालचिनीको बोक्रा र पातले समेत राम्रो मूल्य पाएपछि यहाँका किसानहरू यसतर्फ आकर्षित भएका छन्।

पछिल्लो समय मानिस गाउँमा बस्न छाडेको र गाउँमा बसोबास गर्ने किसानका बालीसमेत बाँदरले खान थालेपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। गाउँ छाडेर सहरमा बसाइँ गर्ने मानिसले समेत अचेल गाउँको खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेका छन्। जिल्लाको रैनादेवी छहरास्थित खुर्सेनी, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, भुवनपोखरी, तिनाउको कचल, दोभान, कोलडाँडा, सत्यवती, ज्यामिरे, बेरुवा, जन्तिलुङ्ग, माथागढीको झडेवा, जगाद गोठादी, भुटुके, रम्भा, पूर्वखोला, निस्दीको अर्चले, ज्यामिरे, भिरपानी, धवला, अदममारा, धनुबाँसलगायतका क्षेत्रबाट वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ।

भारत तथा अन्य मुलुकमा मसला, सुगान्धित तेल लगायतका विभिन्न किसिमका औषधि निर्माणको लागि कच्चा पदार्थको रुपमा प्रयोग हुँदै आएको दालचिनीखेती अहिले पाल्पामा व्यावसायिक रुपमा विस्तार हुँदै गएको छ। दालचिनी उत्पादनको क्षेत्रमा यातायातको सहज पहुँच पुगेपछि जिल्ला वन कार्यालय पाल्पाले बजार व्यवस्थापन, विरुवा वितरण, खेती विस्तार तथा प्रवर्द्धनका लागि क्षमता अभिवृद्धिका तालिमले कृषकलाई हौसल्ला बढाएपछि अहिले व्यावसायिक रुपमा दालचिनी खेती हुन थालेको हो।

छ वर्षमा ६८ लाख केजी निर्यात

पाल्पाबाट छ वर्षको अवधिमा ६८ लाख नौ हजार ३७ किलोग्राम तेजपात र दालचिनीका बोक्रा निकासी भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताए। उनीका अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८४ हजार ४८२ किलोग्राम तेजपात र तीन लाख ४७ हजार ९६९ किलोग्राम दालचिनीका बोक्रा भारत निकासी भएको हो। यस्तै आव २०८१/८२ मा आठ लाख ८१ हजार सात सय ३१ किलोग्राम तेजपात र एक लाख २१ हजार १० किलोग्राम दालचिनीका बोक्रा निकासी भएको छ। यहाँ उत्पादित तेजपात र दालचिनीको प्रमुख बजार भनेको भारत हो। यसलाई भारतमा औद्योगिक कच्चा पदार्थ र मसलाजन्य बस्तुको रुपमा प्रयोग हुने गर्दछ। यहाँका कृषकले सान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र बोक्रा दालचिनी प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गर्ने गर्दछन्।

तेजपात र दालचिनी यहाँका नागरिकहरूको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए। उनले भने, ‘विपन्न वर्गका नागरिकहरूका लागि यो सहारानै बनेको छ। यसको प्रभाव सकारात्मक परेका कारण प्रत्येक वर्ष बिरुवाको माग बढदो छ।’ समुदायमा पुगेर आर्थिक क्षेत्रमा यसको महत्व, नर्सरी स्थापनादेखि भण्डारण, बजारीकरण, कृषकलाई तालिम दिँदै आएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ। वैदेशिक रोजगारमा जान चाहने युवाहरू समेत अहिले दालचिनी व्यवसायिक खेतीतर्फ लागेका छन्।

घरमै पुग्छन् व्यापारी

स्थानीय व्यापारी बोक्रा र पात खरिद गर्न घर–घरसम्म आइपुग्छन्। पछिल्लो समयमा दालचिनीको पातबाट किसानले ६० रुपैयाँ र बोक्राबाट एक सय १५ रुपैयाँसम्म गाउँमै पाउने गरेका छन्। गोदाम रहेको स्थानसम्म लग्ने हो भने १०/१५ रुपैयाँ बढी मूल्य पाउँछन्। त्यहाँ तोकिएको मूल्यअनुसार तौलेर ल्याएको दालचिनी ठूला व्यापारीहरूले गोदाममार्फत भारत निकासी गर्दै आएका छन्।

तेजपात दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार हाल कृषकको घरमै पुगेर दालचिनीको बोक्रा खरिद गर्ने गरिएको बताए। परम्परादेखि नै हुने यहाँका खर्‍यान, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बोट प्रशस्त छन्। सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै किसानले बाँकी खाली जग्गामा पनि बिरुवा लगाएका हुन्। दालचिनी बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफू अनुकूल काट्ने गरिन्छ।

भान्साको ओखती दालचिनी

दालचिनीलाई दालचिनीबाहेक कतिपयले सुनकाउली, तेजपात भन्छन्। सामान्यतः दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो। मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ। यसको स्वाद मीठो हुनुको साथै बास्नादार पनि हुन्छ। दालचिनीको उपयोगिता स्वाद बढाउनमा मात्र छैन, विभिन्न औषधीय गुणले भरिपूर्ण समेत छ। दालचिनी खासमा रुखको बोक्रा हो। तेजपत्ता भनेर चिनिने यसको पात पनि स्वादिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ। दालचिनीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ। साथै, दालचिनीमा एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्वसमेत पाइन्छ। आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाहरूमा बढी प्रयोग हुने दालचिनी र तेजपत्ता मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी मानिन्छ।

एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय बिरुवा लगाउन सकिने दालचिनीको स्थानीय तहमा प्रशोधन केन्द्र स्थापना गर्नतर्फ प्रदेश र सङ्घीय सरकारले पहल गरेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार बन्नुको साथै रोजगारीको अवसर सिर्जना हुने र स्वदेशी कच्चा पदार्थको प्रयोगको कारण उद्योग कलकारखाना फष्टाउने थियो। –रासस

प्रकाशित: २०८३ असार ११ गते बिहिबार ०५:२२
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना