काठमाडौं– एक वर्षअघि ठूला दल कांग्रेस, एमालेलाई चुनौती दिने गरी आजकै दिन ७ असारमा चुनाव चिह्न घन्टी घोषणासहित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको विधिवत स्थापना गरेका थिए।
वैकल्पिक शक्ति र भ्रष्टाचारीलाई जेलबास पठाउने नारासहित उदाएको रास्वपाले गत वर्षको ४ मंसिर निर्वाचनमा ठूलो जनमत पायो। त्यतिबेलाको निर्वाचनमा रास्वपाले १३ स्थानमा प्रतिनिधिसभा सदस्यलाई जिताउन सक्यो।
असारमा जन्मिएको रास्वपाले छोटो समय अर्थात् ६ महिनामै ४ मंसिरको निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जित्न सफल भयो। प्छिल्लो समय कांग्रेस त्यागेर रास्वपा पसेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँबाट सांसद चुनिएपछि रास्वपाको संसद्मा प्रतिनिधित्व संख्या २१ छ। प्रतिनिधिसभामा रास्वपा चौथो शक्ति बनेको छ। ९ पुसको बालकोट भेलामा सात दलीय गठबन्धनतिर लहसियो भने पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
लामिछानेसहितका युवाले नयाँ पार्टीलाई जन्माएपछि कांग्रेस, एमालेबाट विरक्तिएर विकल्प खोजिरहेका लागि रास्वपा आश्रय स्थल बन्ने ठानिएको छ। तर, यसका लागि रास्वपाले अझै अगाडिका बाटा पहिल्याउनुपर्नेछ। रास्वपाले पार्टीको स्वरुप पाए पनि यसका स्थानीय तह, प्रदेशमा अझै संगठन बनेका छैनन्। सभापति लामिछानेले गत वर्षको ११ पुसमा उपप्रधान तथा गृहमन्त्री पदको सपथ लिएसँगै उनीमाथि नागरिकता प्रकरणमा अदालतमा मुद्दा परे। सोही कारण उनले मन्त्री पद, सांसद, पार्टी सभापतिसमेत गुमाए। यद्यपि पछिल्लो समय नागरिकता सच्याएपछि उनले १० वैशाखको उपनिर्वाचनमा चितवनबाट सांसद बनेका छन् भने पार्टी सभापतिमा पनि क्रियाशील छन्।
रास्वपाबाट ३ माघमा मन्त्रिपरिषद् हुँदा शिशिर खनाल शिक्षा, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए। सरकारमा बसेको महिना दिन नपुग्दै सभापति लामिछाने विवादको केन्द्रमा घचेटिए। नागरिकता प्रमाणपत्र तथा राहदानी दुरुपयोग प्रकरणमा सर्वोच्च अदालतमै मुद्दा दायर भए। निर्वाचनको समय आउनै लाग्दा कात्तिक अन्त्यतिर लामिछानेसँग नेपाली नागरिकता नरहेको दाबीसहित सर्वोच्चमा मुद्दा हालियो। सर्वोच्चले सोही मुद्दाको फैसला गर्दै लामिछानेको सांसद पद खारेज गरेको थियो।
रास्वपालाई जनमतले साथ दिएको देखिएको छ। अदालतले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा र प्रमाणपत्र दिनेलगायत काम संविधानअनुसार नभएको फैसला गरेपछि उनले पुनः १५ माघमा नेपाली नागरिकताको प्रमाणपत्र लिए। नागरिकता पुनः प्राप्तिपछि प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री हुन चाहेका रविलाई गठबन्धनमा आएको फेरबदलले कारण मौका मिलेन। त्यतिबेला एमालेको सात दलीय गठबन्धन भत्किएर कांग्रेस नेतृत्वको दस दलीय गठबन्धन जन्मिएको थियो।
प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयमा नदिएपछि रास्वपाले सरकारमा भएका मन्त्रीलाई फिर्ता आउन भन्यो। त्यसपछि २२ माघमा सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए। सांसद पदबाट मुक्त भएपछि पनि रविले कायम नभएको नेपाली नागरिकता देखाएर नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी हालियो। इसमा भने रविले क्लिन चिट पाए।
यसबीच गृहमन्त्री गुमेपछि २२ माघमा पत्रकार सम्मेलन गरेरै लामिछाने मूलधारका मिडियामाथि खनिए। १२ भाइ मिडिया साहूबारे दिएको अभिव्यक्तिप्रति उनको आलोचना भयो। लामिछानेले राजीनामा दिएर रिक्त चितवन २ मा १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा रास्वपाले पुनः जित हासिल गरेको छ भने रवि सांसद बनेका छन्। उक्त निर्वाचनमा कांग्रेसबाट रास्वपा हाम फालेका अर्थविद् डा. स्वर्णिम वाग्ले तनहुँ १ बाट सांसद बन्न सफल भए। यो निर्वाचन क्षेत्र रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त थियो।
पार्टी स्थापनाको समय छोटो भए पनि जनमतले दीर्घजीवी बनाइदिएको महामन्त्री मुलुक ढकाल बताउँछन्। उनले भने, ‘सुरुमा हामीले पार्टी खोल्दा गिज्याउनेहरूलाई ४ मंसिरको निर्वाचनले झापड हानेको छ। सभापति र पार्टीमाथि चौतर्फी आक्रमण हुँदा पनि हामी जनमतमा पास भएका छौं। अबको मिसन ८४ हो। त्यतिबेला बहुमत ल्याउने र सिंगै सरकार बनाउने गरी योजना बुनिरहेका छौं।’
भ्रष्टाचार नियन्त्रणलाई कसिकसाउ गरेर यसमा संलग्नमाथि छानीखोजी कारबाही गरिने बताउँदै आएको रास्वपा यसबीचमा विवादमा पनि फस्यो। समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ अनियमिततामा मुछिएपछि पार्टीबाटै निलम्बित भएका छन् भने उनको पदसमेत खुस्किएको छ।
कांग्रेस, एमालेले सत्तामा घुम्दै फिर्दै अवसर पाएर पनि जनतालाई डेलिभरी दिन नसकेकाले रास्वपाप्रति आकर्षण बढिरहेको प्रवक्ता ढकाल दाबी गर्छन्। उनले भने, ‘हामीले सरकारमा गएर काम गर्न नपाए पनि जनताका पीरमर्काबारे संसद्मा आवाज उठाइरहेका छौं। छोटो समय भएकाले र राजनीतिमा परिपक्व नहुँदा पार्टी नेतृत्व हाँक्नेबाट कहिलेकाहीँ चिप्लिनु अन्यथा होइन। यसलाई सच्याएर आगामी दिनमा पार्टीलाई देशैभरका कार्यकर्ताको प्रिय बनाउँछौं।’ हाल रास्वपाको करिब २ लाख हाराहारी पार्टी सदस्य पुगेको महामन्त्री ढकालले बताए।
रास्वपाले जन्मदिवस अवसरमा बुधबार मात्रै डेरा सरेको बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्दै छ । पार्टी स्थापना दिवस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले बताएको छ। चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुनेछन्।


