काठमाडौँ: नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्दै आएको ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ कार्यक्रममार्फत पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ।
गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीले जनाएको छ।
डिजिटल प्रविधिको प्रयोगसँगै साइबर दुव्र्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन र गलत सूचनाजस्ता जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यालय र समुदायलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
वर्ल्डलिंककी प्रमोटर सेयरधनी तथा सीएसआर निर्देशक अनुपा भण्डारी जालानका अनुसार कम्पनीले इन्टरनेट सेवा प्रदायकका रूपमा आफ्नो सामाजिक दायित्वलाई महसुस गर्दै विगत केही वर्षदेखि डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो।
उहाँका अनुसार अभियानले विद्यार्थी तथा समुदायका व्यक्तिलाई इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी दिनुका साथै सुरक्षित र जिम्मेवार डिजिटल व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।
यसै अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा १९ वटा विद्यालयका करिब एक हजार ४९० विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको थियो। विद्यार्थी, शिक्षक र अभिभावकबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा समुदायस्तरबाट बढ्दो मागपछि कार्यक्रमलाई विद्यालयबाट समुदायसम्म विस्तार गरिएको कम्पनीले जनाएको छ।
यस आर्थिक वर्षदेखि महिला मानव अधिकार संस्था, काठमाडौं महानगरपालिका वडा नम्बर ९ र १० तथा टोखा नगरपालिकाका सबै वडासँगको सहकार्यमा समुदायस्तरमा १२ वटा तालिम सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका अन्य व्यक्तिको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक जानकारी र अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
कम्पनीका अनुसार कार्यक्रमका लागि तयार गरिएको तालिम सामग्री नेपाल प्रहरीको साइबर ब्युरोबाट अध्ययन गरी विद्यालय तथा समुदायस्तरमा प्रयोगका लागि अनुमोदन गरिएको छ, जसले कार्यक्रमको विश्वसनीयता र प्रभावकारिता थप सुदृढ बनाएको छ।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले तालिमले साइबर जोखिम, डिजिटल सुरक्षा र इन्टरनेटको सुरक्षित प्रयोगबारे आफ्नो ज्ञान वृद्धि भएको बताएका छन्। उनीहरूले सिकेका जानकारी परिवार, साथीभाइ र समुदायका अन्य सदस्यसम्म पनि पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्य सहभागीहरूले पनि सामाजिक सञ्जाल प्रयोगका क्रममा हुने अनलाइन ठगीको डर कम गर्न तथा व्यक्तिगत विवरणको सुरक्षा गर्ने तरिकाबारे व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रम अन्य समुदायमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
सीएसआर निर्देशक अनुपा भण्डारी जालानले आगामी वर्षहरूमा पनि डिजिटल समावेशीकरण, डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम थप समुदायमा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेका बेला वर्ल्डलिंकको ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ अभियानलाई सुरक्षित डिजिटल संस्कृति निर्माण र सामुदायिक डिजिटल सशक्तीकरणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।


