काठमाडौँ: काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पार्किङसम्बन्धी विवादपछि आवेशमा आएर उनले यस्तो कदम चालेका हुन्।
प्रहरीका अनुसार घाइते हुने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्। उनी पेसाले राइड सेयरिङ सेवा पठाओ चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा गम्भीर घाइते नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार महानगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरिएको भन्दै उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि आवेशमा आएका उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनास्थलमा उपस्थित प्रहरी र अन्य व्यक्तिहरूले तत्काल आगो नियन्त्रणमा लिई उनलाई उद्धार गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घाइतेको शरीरका विभिन्न भाग जलेका छन्। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको तथा उपचार जारी रहेको प्रहरीले जनाएको छ।


