काठमाडौँ: काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक शरीरमा पेट्रोल छर्केर जलेका गणेश नेपालीको मृत्यु भएको छ। नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
मुगुको सोरू गाउँपालिका २ स्थायी घर भई काठमाडौँमा पठाओ चलाउँदै विदेश जाने तयारी गरिरहेका नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उद्वार गरेर उपचारका लागि उनलाई वीर अस्पताल पुर्याइएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार महानगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरिएको भन्दै उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि विवाद उत्पन्न भएको थियो। उनी यात्रुले लिएर विभाग अगाडि पुगेपछि नगर प्रहरीले ह्विललक लगाइदिएइको थियो। विवाद बढ्दै गएपछि आवेशमा आएका उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उक्त प्रकरणमा प्रहरीले ३ जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुई जना महिला नगर प्रहरी र एक जना पुरूष प्रहरीलाई बोलाएर घटनाबारे सोधपोछ गरिरहेको जानकारी दिएको छ।


