रामेछाप: गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ। स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ।
यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ। पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट घटनाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
अविरल वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सुरक्षित रहन, अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनालाई पछ्याउन आग्रह गरिएको छ। घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ।







