काठमाडौँ: छिमेकी चीनले विश्वकै सबैभन्दा ठूलो २२ हजार ५०० मेगावाट क्षमताको थ्री गर्जेज जलासय जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिहेको छ। विश्वकै ठूलो जलविद्युत आयोजना बनाएर रेकर्ड कायम गरेको चीनले फेरि सबैभन्दा अग्लो बाँध भएको जलासय जलविद्युत आयोजना सञ्चालनमा ल्याएर अर्को रेकर्ड बनाएको छ।
दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तस्थित सुआङजियाङकोउ जलविद्युत आयोजनाको दोस्रो युनिटबाट औपचारिक रूपमा व्यावसायिक सञ्चालन सुरु गरेको छ। यससँगै आधा महिनाभित्र दुई युनिट सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य पूरा भएको छ। आयोजनाको बाँधको उचाइ ३१५ मिटर अग्लो रहेको छ।
विश्वस्तरीय जलविद्युत आयोजनाको पूर्ण सञ्चालनतर्फ एउटा महत्वपूर्ण कदम अघि बढेको सीसीटीभी न्युजले जानकारी दिएको छ।
सुवाङजियाङ बाँध ग्राभेल कोर रकफिल (ढुङ्गा र माटोले बनेको) बाँध हो। ३१५ मिटरको अधिकतम उचाइ भएको यो बाँध विश्वकै सबैभन्दा अग्लो बाँध हो। यसको निर्माणमा ४ करोड ६० लाख घनमिटरभन्दा बढी माटो र ढुङाका सामग्रीहरू प्रयोग गरिएका थिए।
स्थानीय सञ्चारमाध्यम सिचुआन डेलीका अनुसार, यदि ती सामग्रीहरूलाई एक मिटर लम्बाइ, चौडाइ र उचाइ भएको पर्खालको रूपमा जोड्ने हो भने त्यसले पृथ्वीको भूमध्यरेखालाई एक पटक फन्को मार्न पुग्ने लम्बाइ ओगट्ने थियो।
सुआङजियाङकोउ जलविद्युत स्टेशन प्रमुख राष्ट्रिय ऊर्जा परियोजना दादु नदीको माथिल्लो भागमा नियन्त्रण गर्ने जलाशय र अग्रणी जलविद्युत स्टेशनको रूपमा काम गर्दछ।
यस परियोजनाले विश्व र घरेलु धेरै इन्जिनियरिङ रेकर्डहरू स्थापित गरेको छ। जसमा चीनको आफ्नो प्रकारको उच्चतम ‘इन सी टु स्ट्रेस’ भूमिगत विद्युतगृह, विश्वको सबैभन्दा ठूलो क्षमताको हाइड्रोलिक होइस्ट, जलविद्युत परियोजनामा सबैभन्दा ठूलो क्रस सेक्सन स्पिलवे सुरुङ र हाल निर्माणाधीन विश्वको सबैभन्दा ठूलो चर क्रस सेक्शन भोर्टेक्स शाफ्ट समावेश छ।
मुख्यतया, विद्युत उत्पादनका लागि डिजाइन गरिएको जलविद्युत केन्द्रको कुल जडित क्षमता २० लाख किलोवाट (दुई हजार मेगावाट) छ। यसबाट वार्षिक औसत सात अर्ब ७० करोड युनिट विद्युत उत्पादन हुनेछ।
कुल २.९ अर्ब घनमिटर जलाशय क्षमता भएको यस आयोजनाले तल्लो तटीय क्षेत्रका क्यास्केड (श्रृङखलाबद्ध) जलविद्युत केन्द्रहरूमा सुक्खायामको विद्युत उत्पादन वार्षिक ६.६ अर्ब युनिट बढाउने अपेक्षा गरिएको छ। साथै, यसले वार्षिक ७१ लाख ८० हजार मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जनमा कटौती गर्ने भएको छ।
अमेरिकी वातावरण संरक्षण निकायको सवारी साधनबाट हुने वार्षिक कार्बन उत्सर्जनसम्बन्धी अनुमानका आधारमा हिसाब गर्दा यो परिमाण १५ लाखभन्दा बढी यात्रुवाहक सवारी साधनबाट हुने वार्षिक उत्सर्जन बराबर हो।
थप विद्युत उत्पादन एकाइहरू सञ्चालनमा आएसँगै यस परियोजनाले दादु नदी जलाधार क्षेत्रमा स्वच्छ ऊर्जाको जडित क्षमता अझ विस्तार गर्ने, सिचुआनमा विद्युत ग्रिडको पिक डिमान्ट (उच्च माग व्यवस्थापन) तथा फ्रिक्वेन्सी नियमन क्षमता अभिवृद्धि गर्ने र याङ्त्जे नदीको माथिल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण कार्यलाई सुदृढ बनाउने बताइएको छ।
थ्री गर्जेज जलासय याङ्त्जे नदीमा रहेको छ। यो नदीबाट मात्रै वार्षिक चार खर्ब २५ अर्ब घनमिटर पानी प्रवाह हुने गरेको छ।
चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार, गत जुन २६ मा आयोजनाको पहिलो उत्पादन एकाइ सफलतापूर्वक त्यहाँको राष्ट्रिय ग्रिड प्रणालीमा जोडिएको छ। यससँगै राष्ट्रिय स्तरको यो प्रमुख स्वच्छ ऊर्जा परियोजनामा विद्युत उत्पादनको सुरुवात भएको छ।
दक्षिण पश्चिम चीनको स्वच्छ ऊर्जा आपूर्ति प्रणालीको विकास तथा देशको कार्बन पिकिङ (कार्बन उत्सर्जनको उच्च विन्दु) र कार्बन तटस्थताका लक्ष्यहरू हासिल गर्न नयाँ टेवा पुगेको छ।
सिन्ह्वाका अनुसार, पहिलो एकाइ सञ्चालनमा आएसँगै जलविद्युत र नयाँ ऊर्जा परियोजनाहरूको जडित क्षमता एक करोड ५० लाख किलोवाट पुगेको छ। यसले छेङ्दु–छोङछिङ आर्थिक क्षेत्रको उच्च स्तरीय विकासलाई टेवा पुर्याउन वार्षिक ६० अर्ब युनिट बढी स्वच्छ विद्युत उपलब्ध गराउनेछ।
साइन्स एण्ड टेक्नोलोजी डेलीको प्रतिवेदन अनुसार, आयोजनाका एकाइहरू ८० मिटरसम्मको अधिकतम हाइड्रोलिक हेड (पानीको उचाइको अन्तर) मा सञ्चालन हुन्छन् भने आयोजनाको अधिकतम बाढी बहावको हेड २५० मिटर रहेको छ। यी दुवै विश्वमै उच्च स्तरका मानिने बताइएको छ।
(ग्लोबल टाइम्सको सहयोगमा)
