काठमाडौँः नेपालमा महँगीको दर पुनः उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार उपभोक्ता मुद्रास्फीति (महँगी) ५.२२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा महँगी दर २.७२ प्रतिशत रहेको थियो। यस आधारमा एक वर्षको अवधिमा महँगीको चाप उल्लेख्य रूपमा बढेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहमा ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ५.३७ प्रतिशत महँगी देखिएको छ। खाद्य समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य १५.१० प्रतिशतले वृद्धि भएको छ। यद्यपि, दाल तथा गेडागुडीको मूल्यमा भने ०.९३ प्रतिशतले गिरावट आएको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशतले बढेको छ भने यातायात खर्चमा १५.३१ प्रतिशतको वृद्धि भएको छ। यसबाहेक शिक्षाको शुल्क ५.५४ प्रतिशत र लुगा तथा जुत्ता–चप्पलको मूल्य ५.५३ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
भौगोलिक रूपमा हेर्दा सहरी क्षेत्रमा महँगी दर ५.३८ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा ४.८७ प्रतिशत छ। विकास क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी ५.७४ प्रतिशत महँगी देखिएको छ भने हिमाली क्षेत्रमा सबैभन्दा कम ३.७१ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत महँगी रहेको छ। मधेस र लुम्बिनी प्रदेशमा समान ५.६२ प्रतिशत महँगी रहेको छ भने बागमती प्रदेशमा यो दर ४.७९ प्रतिशत कायम भएको छ।
उपभोक्ताले तिर्ने खुद्रा मूल्यसँगै थोक बजारमा पनि मूल्यवृद्धिको चाप बढेको देखिएको छ। राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म थोक मुद्रास्फीति ८.४७ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा थोक महँगी १.५६ प्रतिशत मात्र रहेको थियो। थोक मूल्यमा भएको यस्तो वृद्धिले आगामी महिनाहरूमा खुद्रा बजारमा पनि थप मूल्यवृद्धिको दबाब पर्न सक्ने संकेत गरेको छ।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत महँगी दर भने २.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।


