काठमाडौँ: सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सरकारले घटनाको छानबिन अघि बढाएको छ। गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ भने सोमबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाएको छ।
गृह मन्त्रालयका अनुसार समितिले घटनाको वस्तुगत अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्नेछ।
उता, घटनापछि सुनसरीका पाँच क्षेत्रमा जारी कर्फ्युबीच केही स्थानमा विरोध प्रदर्शनसमेत भएको छ।
सुनसरी–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले प्रहरीको गोली प्रहारको शैलीमाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनले गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गर्दै सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो।
स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालासहित आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ।
प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो। गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। अन्य ९ जनाको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।
घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।


