काठमाडौँ: अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ।

यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ। विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले विश्वको सर्वोच्च विलासी गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको हो।

कालीगण्डकी नदीको तटमा अवस्थित यस रिसोर्टको परिकल्पना प्रख्यात ‘म्याक्सिमलिस्ट’ डिजाइनर बिल बेन्स्लीले गरेका हुन्। परम्परागत बाग्लुङ ढुङ्गाको प्रयोग गरी निर्माण गरिएको यस भवनमा २९ वटा विशेष सुविधायुक्त कोठाहरू रहेका छन्। जहाँबाट निलगिरि र धौलागिरी लगायतका हिमालहरूको अद्भूत दृश्य देख्न सकिन्छ।

यात्रा विशेषज्ञहरूले यसलाई शरीर, मन र आत्माको शान्तिका लागि परम विश्रामस्थल भनेर व्याख्या गरेका छन्। यहाँ आउने पाहुनाहरूका लागि कम्तीमा पाँच रातको बसाई अनिवार्य गरिएको छ, जसले गर्दा पर्यटकहरूले मुस्ताङको प्रकृति र संस्कृतिमा पूर्ण रूपमा घुलमिल हुने र पुनर्ताजगी महसुस गर्ने अवसर पाउँछन्।

शिन्तामणि मुस्ताङमा पुग्ने पाहुनाहरूका लागि हिमाली पदयात्रा, घोडचढी, र धनुषबाण जस्ता परम्परागत खेलहरूको व्यवस्था गरिएको छ। साथै, ८०० वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको अध्ययन र रिसोर्टमै उपलब्ध परम्परागत तिब्बती चिकित्सा पद्धति ‘आम्ची’को सेवा यहाँका मुख्य आकर्षण हुन्।

एभरेष्ट क्षेत्रको तुलनामा कम जनघनत्व भएको र शान्त रहेको यो क्षेत्र विशेषगरी एकान्त र मौलिकता रुचाउने विश्वका धनाढ्य पर्यटकहरूको रोजाइमा परेको छ। रोब रिपोर्टले आफ्ना २४ जना विश्वविख्यात ट्राभल विज्ञहरूको सिफारिस र स्थलगत अनुभवका आधारमा यो सूची तयार पारेको हो। सेवाको गुणस्तर, व्यवस्थापन, लोकेसन र मौलिकतालाई मुख्य आधार मानेर गरिएको यस मूल्याङ्कनमा नेपालको रिसोर्टले सर्वाधिक अङ्क प्राप्त गरेको छ।

यस सूचीको दोस्रो स्थानमा रुवान्डाको सिंगिता क्विटोन्डा र तेस्रो स्थानमा स्कटल्याण्डको होप लज रहेका छन्। त्यसैगरी चौथोमा जापानको पार्क हयात टोकियो र पाँचौँ स्थानमा भारतको शक्ति प्राणपर्न सफल भएका छन्।

नेपालको मुस्ताङले विश्वस्तरको यस्तो ठूलो सम्मान पाउनुले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ। यसले नेपाललाई केवल साहसिक पदयात्राका लागि मात्र नभई विश्वकै उत्कृष्ट लक्जरी पर्यटकीय गन्तव्यको रूपमा समेत अन्तर्राष्ट्रिय स्तरमा बलियो पहिचान दिएको छ।