काठमाडौं। महाकाली नदीको सहायक चमेलियामा करिडोरमा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन्।
यस्तै अपी पावर कम्पनी लिमिटेडको सहायक संस्था दार्चुला पावर कम्पनी लिमिटेडले २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो।
दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ। नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको योजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको थियो।
आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहनेगरी प्रस्ताव गरिएको छ। आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रस्ताव भएबमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ।
आक्रामक रूपमा लगानी बढाउँदै अपी पावर, ८६ मेगावाटका तीन आयोजना बन्दै
यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो। यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो।
आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्यांकन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक दार्चुला पावरबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ। यस्तै, २०८२ जेठ २१ गते आयोजनाको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ। प्रस्तावित आयोजनास्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ।
आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ। यस्तै, तल्लो तटमा विद्युत प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना छ।
उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ। आयोजनाबाट वर्षायाममा ११ करोठ ८५ लाख युनिट र हिउँदमा ६ करोड ७१ युनिट ऊर्जा उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ।
आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत ६ अर्ब २३ करोड ६२ लाख रुपैयाँ रहेको छ।


