काठमाडौँ: पाकिस्तानको काराकोरम हिमशृङ्खलाअन्तर्गत अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणमा गएका निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जना आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाली आरोहीहरू निर्मलसहित पुर बहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
बेपत्तामध्ये २ जनाको शव भेटिएकोमा ८ जना अझै बेपत्ता छन्।
बेपत्ता भएका आरोहीको खोजी तथा उद्धारका लागि नेपाल सरकारले सम्बन्धित निकायसँग समन्वय तीव्र बनाएको जनाएको छ। पर्यटन विभागले शुक्रबार एक सूचना जारी गर्दै साउन १४ गते हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको समाचारप्रति सरकार गम्भीर रहेको जनाएको छ।
विभागका अनुसार बेपत्ता नेपाली आरोहीको शीघ्र खोजी तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ। साथै, आवश्यक पहल र उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।


