काठमाडौँः पछिल्लो करिब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको उद्योगीहरूको दाबी छ। दैनिक औसत १०५ वटा ग्यास बुलेट आयात भइरहेको उनीहरू बताउँछन्। तर, आयात बढेको दाबी गरिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन्।
नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयमा दिनहुँ ग्यास सिलिन्डर साट्न आउने उपभोक्ताको भीड देखिन्छ। डिलर र डिपोमा ग्यास सहज रूपमा नपाइएपछि धेरै उपभोक्ता निगम परिसर पुगिरहेका छन्। यसले ग्यासको अभाव आपूर्तिमा हो कि वितरण प्रणालीमा भन्ने प्रश्न उठाएको छ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेयता १६ दिनको अवधिमा करिब ३० हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ। यही गति कायम रहे साउन महिनाभित्र मात्रै करिब ५० हजार मेट्रिक टन ग्यास भित्रिन सक्ने उनले बताए।
उनका अनुसार अहिले दैनिक बढीमा १२५ र औसतमा १०५ वटा ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। सामान्य अवस्थामा दैनिक ८० देखि ९० वटा बुलेट पर्याप्त हुने भए पनि अहिले त्यसभन्दा बढी आयात हुँदा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
उद्योगीहरूका अनुसार अहिलेको मुख्य समस्या ग्यासको आपूर्तिभन्दा खाली सिलिन्डरको व्यवस्थापन हो। १४।२ केजीका सिलिन्डर पुनः सहज रूपमा उपलब्ध हुन थालेपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक साट्न उपभोक्ता बजारमा आउँदा वितरणमा चाप परेको उनीहरूको भनाइ छ।
ूग्यास कि बुलेटमा हुन्छ कि सिलिन्डरमा। खाली सिलिन्डर नफर्किएसम्म बजारमा सहज आपूर्ति गर्न कठिन हुन्छ,ू अध्यक्ष चन्दले भने।
निगमस् आपूर्ति खपतअनुसारकै छ
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अहिलेको अवस्था ग्यास अभावभन्दा पनि अचानक बढेको माग व्यवस्थापनसँग सम्बन्धित रहेको बताए।
उनका अनुसार नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ र पछिल्लो समय सोही अनुपातमा आयात भइरहेको छ।
ूफागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव थियो। त्यसपछि चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा भने ठूलो समस्या देखिएन,ू ठाकुरले भने। उनका अनुसार असारमा करिब ४४ हजार मेट्रिक टन र साउन १५ गतेसम्म २६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ।
१४।२ केजी सिलिन्डर फर्किएपछि बढ्यो चाप
निगमका अनुसार १४।२ केजीका सिलिन्डर पुनः उपलब्ध हुन थालेपछि धेरै उपभोक्ता एकैपटक सिलिन्डर साट्न बजारमा आएका कारण माग अस्वाभाविक रूपमा बढेको हो।
ठाकुरका अनुसार केही उपभोक्ताले ७।१ केजीका सिलिन्डर प्रयोग गर्दा अपेक्षित परिणाम नपाएको गुनासो पनि गरेका छन्। कतिपय अवस्थामा सिलिन्डरको तौल पुगे पनि आवश्यक प्रेसर नपुग्दा ग्यास प्रयोगमा समस्या देखिएको उनले बताए।
डिलरमा नपाएपछि टेकुमा प्रत्यक्ष बिक्री
बजारमा ग्यास सहज रूपमा नपाएपछि काठमाडौंको टेकुस्थित नेपाल आयल निगम परिसरबाट विभिन्न उद्योगले प्रत्यक्ष बिक्री सुरु गरेका छन्। नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीरामलगायत कम्पनीले त्यहाँबाट उपभोक्तालाई ग्यास उपलब्ध गराइरहेका छन्।
निगमले भने आफूले प्रत्यक्ष बिक्री नगरेको स्पष्ट पारेको छ। प्रवक्ता ठाकुरका अनुसार डिलरबाट ग्यास नपाएका उपभोक्तालाई सहज बनाउन उद्योगहरूलाई निगमको परिसर प्रयोग गर्न दिइएको हो।
एकातिर तथ्यांकले ग्यास आयात नियमित भइरहेको देखाउँछ भने अर्कोतर्फ उपभोक्ताले बजारमा अभावको अनुभव गरिरहेका छन्। यसले नेपालको एलपी ग्यास व्यवस्थापनमा आपूर्तिसँगै वितरण प्रणाली, सिलिन्डर व्यवस्थापन र बजार अनुगमन पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ।


