काठमाडौँ: एलपी ग्यास उद्योग संघ नेपालले विगतमा लागू गरिएको आधा सिलिन्डर वितरण नीतिका कारण अहिले बजारमा ग्यास अभाव झन् चर्किएको जनाएको छ।
खाना पकाउने ग्यासको असहज आपूर्तिलाई सहज बनाउन उपभोक्तासँग सहयोगको अपिल गर्दै संघले घरमा करिब एक महिनाका लागि पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल ग्यास लिन लाइनमा नबस्न आग्रह गरेको हो।
संघका अनुसार विगतमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास वितरण गरिएको थियो। अहिले भने अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको, ग्यास आयात नियमित भएको र पुनः भरिएको सिलिन्डर (१४.२ केजी) उपलब्ध गराउन थालिएको जनाएको छ।
संघले पछिल्लो केही महिनामा करिब ५५ हजार मेट्रिक टन ग्यास नियमित खपतभन्दा कम आयात भएकाले बजारमा अभाव देखिएको उल्लेख गरेको छ। आवश्यकताभन्दा धेरै समयसम्म आधा सिलिन्डर प्रयोग हुँदा अधिकांश घरमा एक–एक पटक भर्ने ग्यास बाँकी रहेकाले तत्काल नयाँ सिलिन्डरको माग बढ्दा वितरणमा दबाब परेको संघको भनाइ छ।
संघले नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता र उपभोक्ताले एकअर्कासँग समन्वय र सहयोग गरे छोटो समयमै बजारलाई सहज बनाउन सकिने विश्वास व्यक्त गरेको छ। मौज्दात पर्याप्त भएका उपभोक्ताले केही समय नयाँ ग्यास नलिँदा आवश्यक परेका उपभोक्तालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन सहज हुने संघले जनाएको छ।



