काठमाडौं। चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन्। एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन्।
उद्योगसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा चीनबाट २४ लाख ६० हजार स्मार्ट चस्मा निर्यात भएका छन्। जुन अघिल्लो वर्षको तुलनामा ८७ प्रतिशतले बढी हो। विश्वव्यापी स्मार्ट चस्मा आपूर्तिमध्ये चिनियाँ ब्रान्डहरूको हिस्सा २३ प्रतिशत पुगेको छ भने एआर र ईआर चस्मा खण्डमा उनीहरूले ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन्।
रे नियो, एक्सरियल, साओमी, रोकिड, अलिबाबा जस्ता एआई मोडेल कम्पनीहरूले युरोप र अमेरिकालगायतका बजारमा विस्तारलाई तीव्र बनाएका छन्। चीनको प्रमुख नवप्रवर्तन केन्द्र हाङ्झाउस्थित रोकिडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) झु मिङमिङले एआई युगमा स्मार्ट चस्मा सर्वसाधारणका लागि सबैभन्दा लोकप्रिय एआई उपकरण बन्न सक्ने बताएका छन्।
उनका अनुसार आगामी तीनदेखि पाँच वर्षभित्र एआई चस्मा दैनिक जीवनको सामान्य उपकरणका रूपमा स्थापित हुन सक्छ। बहुआयामिक (मल्टिमोडल) एआई प्रविधिको विकाससँगै स्मार्ट चस्माको प्रयोगक्षेत्र पनि विस्तार भइरहेको छ।
अनुवाद, नेभिगेसन, नोट लिने, फोटो खिच्ने, मनोरञ्जन तथा वास्तविक समयमै सूचना उपलब्ध गराउने जस्ता कार्यमा यी उपकरण प्रयोग हुन थालेका छन्। त्यस्तै एआर चस्माले काम, सञ्चार, मनोरञ्जन तथा स्पेसियल कम्प्युटिङका नयाँ सम्भावना पनि खोलिरहेका छन्।
उद्योग विश्लेषकहरूका अनुसार चीनको स्मार्ट चस्मा उद्योगले हल्का डिजाइन, उन्नत अप्टिक्स र एआई क्षमतामा उल्लेखनीय प्रगति गरिसकेको छ। अब मुख्य चुनौती उपभोक्तालाई आकर्षित गर्ने उपयोगी अनुप्रयोग विकास गर्दै बजार विस्तार गर्नु रहेको उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार एआई चस्मा सामान्य चस्माजत्तिकै सहज र प्रयोगमैत्री बन्दै गएसँगै चिनियाँ ब्रान्डहरूले विश्व बजारलाई प्रारम्भिक चासोको चरणबाट व्यापक प्रयोगको चरणतर्फ लैजाने सम्भावना बढ्दै गएको छ। सीसीटीभी


