काठमाडौँ- भौगोलिक रुपमा नेपाललाई दाँज्दा धेरैको दिमागमा स्विट्जरल्यान्ड आउने गर्छ। स्विट्जरल्यान्डको भुगोल नेपालसँग मिल्दोजुल्दो भएकाले नेपाललाई स्विट्जरल्यान्ड भनेर दाँज्ने गरिएको हो। नेपालको स्विट्जरल्यान्ड भनेर चाहिँ दोलखाको जिरीलाई चिन्ने गरिन्छ। राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी मनमोहक पनि छ।
जिरिमा घुम्नलायक प्रशस्तै ठाँउ छन्। पाँचपोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फयाक्ट्ररी हरु जिरी नजिकका मुख्य आकर्षणका ठाँउ हुन्।
जिरीका पर्यटन अभियन्ता भनेर चिनिने तथा ‘जिरी घुम्न जाऔँ फिरिरि’ भनेर सुरु गर्ने व्यक्ति लिलाराम खड्काका अनुसार काठमाडौँ नजिकको राम्रो पर्यटकीय सभ्भावना बोकेको क्षेत्र हो। सगरमाथाको पहिलो प्रवेशद्वारको पनि उपमा पाएको जिरी अहिले सुनसान छ।
गर्मीको समयमा जिरीका होटल भरिभराउ हुने गर्दथे। अहिले सुनसान छ। पर्यटन प्रवर्द्धन गर्न धेरै कार्यक्रमहरुको पनि बर्सेनी आयोजना हुने जिरीको हावापानीले धेरैलाई मुग्ध बनाउने गरेको छ। गर्मी छल्ने मुख्य गन्तव्य जिरीको चिज र छुर्पी पनि लोकप्रिय छ।

















