काठमाडौँ: यती डिष्टिलरी प्रालिले एक वर्षमा पौने छ अर्ब रुपैयाँ हारहारीमा मदिरा व्यापार गरेको छ। यतीले यो वर्ष ओल्ड दरबार, ओल्ड दरबार चिम्नी र ८८४८ भोडका बेचेर ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।
कूल आम्दानीमा तीन ब्राण्डको हिस्सा ९१ प्रतिशत रहेको यती डिष्टिलरीले जनाएको छ। यसबाहेक यतीले जीनलगायत अन्य कम गुणस्तरको ह्विस्की उत्पादन गरिरहेको छ। २५ देखि ३० युपी बाहेक ७० युपीको हिस्सा ९ प्रतिशत मात्र छ।
सन् २०२५ मा यतीले ५ अर्ब ९१ करोड ८० लाख, २०२४ मा ४ अर्ब ७३ करोड, २०२३ मा ५ अर्ब १७ करोड र २०२२ मा ५ अर्ब ७२ करोड रुपैयाँबराबरको विभिन्न ब्राण्डको मदिरा व्यापार गरेको सार्वजनिक गरेका वित्तीय विवरणमा उल्लेख छ।
यतीले आर्थिक वर्ष २०२५ मा बिक्री वृद्धि र नाफा आर्जन गर्ने क्षमतामा सुधार भएको जनाएको छ। जसमा उत्पादनको मूल्य समायोजनले पनि आंशिक रूपमा सहयोग पुर्याएको छ।
यस अवधिमा सञ्चालन नाफा मार्जिन करिब २८ प्रतिशत (आर्थिक वर्ष २०२४ मा करिब २२ प्रतिशत) रहेको थियो। आर्थिक वर्ष २०२६ मा यो अझ सुधार भई करिब ३० प्रतिशत पुगेको उद्योगले जनाएको छ। यद्यपि,यस वर्ष कम्पनीको कुल आम्दानी भने लगभग स्थिर नै रहेको छ।
हालका वर्षहरूमा कम्पनीको लाभांश वितरणमा कमी आएको छ। आर्थिक वर्ष २०२३ को नाफाबाट १६८ प्रतिशत वितरण गरिएको थियो।
आर्थिक वर्ष २०२४ र २०२५ को नाफाको औसतमा करिब ४३ प्रतिशत मात्र लाभांश स्वरूप वितरण गरिएको थियो। जसले कम्पनीको तरलता स्थिति सुदृढ पार्न सकारात्मक भूमिका खेलेको छ। मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।
उद्योगको मदिरा उत्पादन क्षमता दैनिक नौ हजार केस छ।
स्वदेशी ह्विस्की र भोड्काको बजारमा यतीको बलियो उपस्थिति छ। यो मुलुकको ठूलो मदिरा उद्योगहरू मध्ये एक हो। यतीमा रवि केसी र अभिषेक श्रेष्ठको आधा–आधा हिस्सा रहेको छ। कम्पनीको उत्पादनहरू तयार पार्न पाँचवटा प्रशोधन लाइनहरू सञ्चालनमा छन्।
