काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्। अन्य सबै विषयमा उच्च अंक ल्याएका मेधावी विद्यार्थीहरू एउटा विषयमा ठूलो सङ्ख्यामा अनुत्तीर्ण देखिएपछि नतिजामा त्रुटि भएको आरोप लागेको हो।
साउन २२ गते प्रकाशित नतिजाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसका पीडित विद्यार्थीहरूले सोमबार डीन कार्यालयमा उजुरी दर्ता गराएका छन्। उनीहरूले आफूहरूलाई नियतवश र योजनाबद्ध ढंगले असफल बनाइएको आरोप लगाउँदै प्राज्ञिक न्याय र जवाफदेहिताको माग गरेका हुन्।
गत असार १० देखि २६ गतेसम्म सञ्चालित यो परीक्षामा नियमित र आंशिक गरी जम्मा १६७ जना सहभागी थिए। त्यसमध्ये ७७ प्रतिशत अर्थात् १२९ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। अझ अचम्मको कुरा त के छ भने, असफल हुने अधिकांश विद्यार्थीहरू ‘विधिशास्त्र’ (कोड १६१) मा मात्र फेल भएका छन्, जबकि उनीहरूले अन्य सबै विषयमा विशिष्ट वा प्रथम श्रेणीको अंक हासिल गरेका छन्।
क्याम्पसगत रूपमा सानेपास्थित नेशनल ल कलेजका ५० परीक्षार्थीमध्ये जम्मा ४२ जना, पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसका १९ विद्यार्थीमध्ये १५ जना, नेपाल ल क्याम्पसको बिहानी सत्रमा ५८ प्रतिशत र दिवा सत्रका पनि ठूलो सङ्ख्यामा विद्यार्थीहरू अनुत्तीर्ण भएको देखिएको हो।
प्रवेश परीक्षा पास गरी नियमित कक्षा लिने, ८० प्रतिशत हाजिरी पूरा गर्ने र आन्तरिक तथा प्रि-बोर्ड परीक्षामा समेत राम्रो नतिजा ल्याएका विद्यार्थीहरू बोर्ड परीक्षामा सामूहिक रूपमा असफल हुनुलाई विद्यार्थीहरूले पूर्वाग्रहपूर्ण र योजनाबद्ध फेल बनाइएको आरोप लगाएका छन्।
‘प्रवेश परीक्षामा उत्कृष्ट ५० जना भित्र नाम निकाली अध्यायन गरिरहेको विधार्थीमध्ये ७० प्रतिशतभन्दा बढी अनुत्तीर्ण हुने गरी प्रकाशित परीक्षाफलमा असफल विधार्थी कि शिक्षक ? आफूलाई सर्वज्ञान ठानी विधार्थीको उत्तरपुस्तिकामा केही नदेखी मनलाग्दी रुपमा सनकको भरमा कपी चेक गरी फेल गराउने शिक्षकलाई आफ्नो शिक्षण पेशामा असफल भएको आत्मागालिन अनुभुति हुने कि नाइँ?’ पीडित एक विद्यार्थीले भने, ‘नैतिकताको ज्ञान दिने शिक्षकको हामी अब नैतिकता हेर्ने छौँ। आज सम्म हामी चुप थियौं अब चुप रहने छैनौँ।’
त्यस्तै अर्का एक पीडित विद्यार्थीले परीक्षा १६७ जनाले दिएकोमा ३७ जना मात्रै विधिशास्त्रमा फेल भएको बताए। अन्य विषयमा राम्रो अंक ल्याए पनि विधिशास्त्रमा ठूलो संख्यामा फेल हुनु विद्यार्थीमाथि जानीजानी गरिएको खेलबाड हो। यो तहमा फेल हुने अवस्थै थिएन,’ उनले भने।
पीडित विद्यार्थीले यो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्। साधारण पुनर्योगले मात्र यो समस्या समाधान नहुने भन्दै उनीहरूले ‘विधिशास्त्र’ विषयका सबै उत्तरपुस्तिकालाई विषय विज्ञमार्फत पुनः मूल्याङ्कन गर्नुपर्ने अडान राखेका छन्। साथै, लापरबाही गर्ने परीक्षक र सम्परीक्षकहरूलाई निलम्बन गरी कारबाही गर्न समेत निवेदनमा माग गरिएको छ।
त्रिवि, कानुन संकायको डीन कार्यालयले भने परीक्षाफलको ग्रेड सिट सम्बन्धित क्याम्पस/कलेजहरूबाट बुधबारदेखि प्राप्त गर्न सकिने भन्दैप्रकाशित नतिजाउपर चित्त नबुझे २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताएको छ।
