प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कारागारबाट फरार कैदीको संख्या ठूलो भएको बताएका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भइरहेको विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफलमा उनले भने, ‘हामीले कारागारमा जति कैदी राखेका छौँ, त्योभन्दा ठूलो संख्या फरार रहेको अवस्था छ।’
कार्कीले सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनाका कारण सुरक्षाकर्मीले लामो समय लगाएर विभिन्न सुरक्षा उपाय अपनाउँदै कैदीबन्दीलाई स्थानान्तरण गर्नुपरेको बताए। उनले हिरासत तथा कारागार स्थानान्तरणको विषयमा अवलोकनपछि यथाशीघ्र निर्णय लिन सकेमा त्यहाँ हुन सक्ने क्षति तथा संगठित गतिविधि रोक्न सहयोग पुग्ने भनाइ राखे।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका ६८२ जना अझै पक्राउ पर्न बाँकी छन्। त्यसैगरी, विभिन्न कारागारबाट फरार भएका १३ हजार ५८९ जनामध्ये तीन हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको उनले जानकारी दिए।
‘कारागारबाट फरार भएकाहरूको संख्या ठूलो छ । हामीले कारागारमा जति कैदी राखेका छौँ, त्योभन्दा ठूलो संख्या फरार रहेको अवस्था छ । उनीहरू स्वदेश तथा विदेशमा फरार छन् । फरार भइरहने अवस्था पनि विद्यमान छ,’ उनले भने ।


