काठमाडौँ: सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको हो।
नयाँ पुस्ताका फोल्डेबल उपकरणमा कृत्रिम बौद्धिकता (एआई), डिजाइन, मजबुती र सफ्टवेयरलाई प्राथमिकता दिइएको सामसङले जनाएको छ। कम्पनीका अनुसार ठूलो डिस्प्ले भएका जेड फोल्ड ८ र जेड फोल्ड ८ अल्ट्राले एउटै स्क्रिनमा विभिन्न काम गर्न, सामग्री तुलना गर्न तथा नयाँ सामग्री सिर्जना गर्न सहज बनाउनेछन्।
जेड फ्लिप ८ मा भने एआईसँग छिटो संवाद गर्न सकिने सुविधा तथा सिर्जनात्मक प्रयोगलाई केन्द्रमा राखिएको छ। यस्तै, नयाँ ग्यालेक्सी वाच सिरिजले स्वास्थ्य, शारीरिक सक्रियता र तन्दुरुस्तीसम्बन्धी सेवा तथा निगरानीलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
सामसङले नयाँ उपकरणको बिक्रीलाई मूल्यमा मात्र सीमित नगरी ग्राहकका लागि खरिद प्रक्रिया सहज बनाउने र विभिन्न डिजिटल तथा वित्तीय सेवासँग जोड्ने रणनीति अपनाएको जनाएको छ।
कम्पनीका अनुसार हुलास फिन सर्भमार्फत ४० प्रतिशत अग्रिम भुक्तानी गरेर २४ महिनाको किस्ताबन्दी सुविधामा फोन खरिद गर्न सकिनेछ। योग्य उच्चस्तरीय ग्राहकले भने २० प्रतिशत अग्रिम भुक्तानीमा ३६ महिनासम्मको किस्ताबन्दी सुविधा पाउनेछन्।
पुरानो मोबाइल साटेर नयाँ फोन खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ। रेमिट्यान्ससँग जोडिएको नगद फिर्ता योजनाले पनि खरिदकर्तालाई थप लाभ दिने कम्पनीले जनाएको छ।
सामसङले आईएमएस र हिम इलेक्ट्रोनिक्ससँग सहकार्य गरी डिजिटल प्रक्रियादेखि पसलबाट हुने खरिदसम्म ग्राहकलाई सहज सेवा दिने व्यवस्था गरेको छ। डिजिटल केवाईसी तथा रेमिट्यान्स प्रमाणीकरणमार्फत ग्राहकले घरबाटै वा सम्बन्धित स्टोरमा पुगेर खरिद प्रक्रिया अघि बढाउन सक्नेछन्।
पुराना विद्युतीय उपकरणको पुनः प्रयोगलाई प्रोत्साहन गर्न सामसङले अप्कुडोसँग सहकार्य गरेको छ। यसअन्तर्गत पुराना उपकरणलाई उचित मूल्यमा लिएर मर्मत तथा पुनः प्रयोग गर्ने व्यवस्था गरिनेछ। यसबाट विद्युतीय फोहोर घटाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
नयाँ फोल्डेबल सिरिजलाई सामसङले एनसेल, इसेवा तथा विभिन्न वित्तीय साझेदारसँग जोडिएको स्मार्ट इकोसिस्टमका रूपमा अघि बढाउने जनाएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले फोल्डेबल उपकरणलाई एआई प्रयोगका लागि सामान्य स्मार्टफोनभन्दा फराकिलो कार्यक्षेत्रका रूपमा प्रस्तुत गरे। उनका अनुसार सामसङको उद्देश्य उत्पादन बिक्रीमा मात्र सीमित नभई नेपालका युवालाई कोडिङ र एआईलगायत क्षेत्रमा दक्ष बनाउन योगदान गर्नु पनि हो।
सामसङले नयाँ फोल्डेबल सिरिजका लागि प्रि-अर्डर खुला गरेको छ। बिहीबारदेखि स्टक रहुञ्जेलसम्म ग्राहकले भीआईपी र सामान्य गरी दुई किसिमका प्रि-अर्डर प्याकेज रोज्न सक्नेछन्।
भीआईपी प्याकेजअन्तर्गत ग्राहकले अधिकतम ६८ हजार रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा दुई वर्षका लागि एनसेलको डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच खरिदमा १० हजार रुपैयाँ छुट र १८ हजार ३५१ रुपैयाँ बराबरको गुगल एआई प्रो ६ महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने सुविधा समावेश छ।
सामान्य प्रि-अर्डर प्याकेजबाट भने ग्राहकले ५८ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। दुवै प्याकेजमा फोन कभर निःशुल्क उपलब्ध गराउनुका साथै दुई वर्षको अतिरिक्त वारेन्टी पनि दिइने सामसङले जनाएको छ।


