काठमाडौँ: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ।
बिहीबार स्वतन्त्र ढंगले माइतीघरमा भेला भएकाहरुले मृतकलाई न्याय र संलग्नलाई कडाभन्दा कडा कारबाही माग गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसी दिइनुपर्ने मागसमेत गरे। सहभागीले महिला कानुनमन्त्री भएको देशमा महिला बलात्कृत हुँदा पनि कारबाहीसम्बन्धी कानुन फितलो भएको भन्दै मन्त्रीविरुद्ध मुर्दावादको नारा लगाए।
गरिमा गत साउन ३१ मा बेपत्ता भएकी थिइन्। त्यसको तीन दिनपछि उनको शव छिमेकीको खाली घरमा भेटिएको थियो। घटनमा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका सहचालक र धनीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
यही घटनाका कारण पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका छन्।












