काठमाडौँ: रसुवामा गएको बाढीपछि ठूलो संख्यामा सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नेपाली सेनाका ३२ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन्।
केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले रसुवाको टिमुरेसहितका कार्यालयका ३२ जना प्रहरी सम्पर्कमा आएका छैनन्। यसैगरी सशस्त्र प्रहरी बल टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना पनि बेपत्ता छन्।
यस्तै ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।