काठमाडौं। बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ।
क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ। क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन यो प्रयास महत्त्वपूर्ण मानिएको छ।
उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ।
अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन्।
रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ।
घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ।
उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन्।
प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन्।