२०८३ कार्तिक १६ गते आईतबार

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
apple

रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन
आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…

बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो। १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन।

रूखका हाँगा स्याउले झुकेका छन्। हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ। बगैँचा राताम्य छन्। बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रुमल्लिएको छ।

खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहनतपछि बगैँचामा फल देखेका थिए। केही वर्षयता नियमित देख्न पाइएको छ। ‘दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले हरेक दिन पालो लगाएर निन्द्रा कटाएका छौँ,’ उनले भनिन्।

भरूनीका अनुसार बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल र चराचुरूङ्गीबाट स्याउ जोगाउनुपर्छ। ‘वन्यजन्तुले आँखा झिमिक्क, माल गायब भनेजस्तै पारिदिन्छन्। त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ,’ उनले भनिन्।

यो समस्या एउटा बगैँचाको मात्रै होइन। खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जन बढी किसानको पीडा उस्तै छ।

सोही वडा राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखिरहेका छन्। ‘रातदिन नभनी स्याउकै हेरचाहमा छौँ। झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो। बेचिने छाँटकाँट छैन,’ उनी भन्छन्।

जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि उत्पादनभन्दा बजार ठुलो चुनौती बनेको छ। खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै दुई घण्टा पैदल हिँड्नुपर्छ। त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन्। पाए पनि ढुवानी खर्च महँगो छ। यस्तै दुःखको सागरमा रुमल्लिएको छ, खालीगडाको स्याउ।

‘बर्खाको समयमा स्याउ पाक्छ। त्यही समय पहाडी सडक अवरुद्ध हुन्छ। यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ,’ खप्तडछान्ना–५ का किरण गिरीले सुनाए।

उनका अनुसार कृषकले बजारसम्म पुर्‍याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च महँगो पर्ने अवस्था छ। बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए।

बाहिरको स्याउले ओगट्यो बजार

बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै भेटिन्छ। नेपालकै जुम्ला, मुस्ताङको स्याउ पनि पर्याप्त छ। त्यसको मूल्य प्रतिकिलो करिब रु १५० देखि १७० सम्म पर्छ तर स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुग्दा त्योभन्दा बढी खर्च लाग्छ।

उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो हुन जान्छ। त्यसपछि किसानसँग सस्तोमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प बाँकी रहँदैन।

खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा उपभोक्ताले स्थानीय स्याउको गुणस्तर र स्वादलाई प्राथमिकता नदिएको बताउछन्। ‘हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् तर बगैँचामै प्रतिकिलो रु ८० मा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,’ उनले भने, ‘टाढा बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च नै उठ्दैन। त्यहाँ पुर्‍याए पनि धेरै सस्तो दिनुपर्छ।’

ठुलो क्षेत्रफलमा खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्र बताउँछन्। ‘उत्पादन गरेर मात्र हुँदो रहेनछ। बेच्ने बजार पनि चाहिने रहेछ। लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन। समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ,’ निराश हुँदै उनले आफ्नो व्यथा सुनाए।

‘ढुवानी खर्च दिए पनि बोक्ने मान्छे भेटिँदैनन्,’ उनी भन्छन्, ‘उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ। बचेको स्याउले मूल्य नै पाउँदैन।’

खालीगडाकै कृषक कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशाले ८०० बोट रोप्नुभएको थियो। तीमध्ये करिब ३०० बोटमा लटरम्मै फलेका छन्। बगैँचा स्याउले भरिँदा उहाँलाई खुसी लाग्छ तर स्याउ टिपेर घरमा थुपारेपछि चिन्ता सुरु हुन्छ। ‘थुप्रिएको स्याउ बेला मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु,’ उनी भन्छन्, ‘छोरी काठमाडौँ पढ्छे। स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो। अब विदेशतिर जाने सोचिरहेको छु।’

गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्‍याए। तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन्। स्याउ लिएर फर्कन सम्भव भएन। ‘कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ। यो पटक पनि त्यस्तै गर्नुपर्ने छ,’ उनले भने।

गाउँघरमा स्याउ किनेर खाने मान्छे नै नभएको उनी बताउँछन्। ‘हाम्रोतिर गाउँ खालीजस्तै भइसके। खासै मान्छे नै छैनन्। टाढा पुर्‍याउन सक्ने क्षमता नै छैन। व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि !’ उनी भन्छन्।

कृषकको सहारा बन्दै आरएसडिसी

कृषकको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ।

खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको आरएसडिसीले थोरै भए पनि बजारसम्म पुर्‍याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए।

रोकायाका अनुसार संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याउने छ। किसानलाई सहज होस् भनेर ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उनले बताए। ‘सिजनमा सबै ठाउँमा हुन्छ। त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ। त्योभन्दा बढी भए थन्किन सक्छ,’ उनले भने।

पहिलो चरण परीक्षण भएको र यसमा सफलता मिल्यो भने पछि ठुलो परिणाममा पठाउन सकिने उनले बताए। बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, ढुवानीका लागि सहकारीलाई सशक्त बनाउने र कृषकलाई थप उत्पादनमा डोर्‍याउने सोचमा संस्था रहेको उनले बताए।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०१:२६
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना