काठमाडौं।अमेरिकाको प्रविधि कम्पनी एप्पल इंकले यही सेप्टेम्बर ९ मा वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने भएको छ।
कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ। कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।
एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।
रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन्। यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन परिवर्तन समावेश हुने अपेक्षा गरिएको छ।
साथै, पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन अल्ट्रा एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ।
कस्तो होला आइफोन १७ ? डिजाइनमा परिवर्तन, चार मोडलमा आउने
यस्तै, एप्पलले आफ्नो नेभिगेसन सेवा एप्पल म्याप्समा आधिकारिक रूपमा विज्ञापन सुविधा सुरु गरेको छ। कम्पनीका अनुसार यो सुविधा आगामी केही साताभित्र थप प्रयोगकर्तामाझ विस्तार गरिने भएको छ।
एप्पल म्याप्समा विज्ञापनहरू निलो रंगको ‘एड’ चिन्हसहित देखिनेछन्। जुन गुगल म्याप्समा लामो समयदेखि प्रयोग हुँदै आएको विज्ञापन प्रणालीसँग मिल्दोजुल्दो छ।
कम्पनीका अनुसार विज्ञापन दुई स्थानमा देखिनेछन्। खोजी गर्नुअघि देखिने सजेस्टेड प्लेसमा विज्ञापन समावेश हुनेछ भने खोजी गरेपछि सम्बन्धित सर्च रिजरल्टमा पनि विज्ञापन देखाइनेछ।
एप्पलले भने म्याप्समा विज्ञापन थपिए पनि प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नहुने जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताको लोकेसन, विज्ञापन हेर्ने वा त्यसमा गरेको अन्तरक्रिया एप्पल अकाउन्टसँग जोडिने छैन।
व्यक्तिगत जानकारी प्रयोगकर्ताकै डिभाइसमा सुरक्षित रहने, एप्पलले संकलन वा भण्डारण नगर्ने र तेस्रो पक्षसँग साझेदारी पनि नगर्ने दाबी कम्पनीको छ।
(एएनआईको सहयोगमा)