काठमाडौँ: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्तासहित खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने र मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।