काठमाडौँः रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी जंगल र पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ। बाढीबाट जोगिन भागेका व्यक्ति जंगलमा फसेको हुन सक्ने आशंकामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका दक्ष जनशक्ति परिचालन गरिएको हो।
कम्पनीले हिमालय समिट क्लबको आठ सदस्यीय रक क्लाइम्बर टोलीलाई घट्टेखोला क्याम्प तथा आसपासका क्षेत्रमा खोजीका लागि खटाएको जनाएको छ। टोलीले सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान र अप्ठ्यारो भूभागमा खोजी गरिरहेको छ।
यसअघि नेपाली सेनाको उद्धार टोलीले आयोजनाको विद्युत्गृहमा खोजी गरे पनि कोही फेला परेनन्। बाढीपछि आयोजनामा कार्यरत सात जनाको भने उद्धार भइसकेको कम्पनीले जनाएको छ।