काठमाडौँ: व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले नेपालमै पहिलो पटक एम्बुलेन्स र लास जलाउने अत्याधुनिक प्रविधि (ग्यास चेम्बर) जडित मोबाइल गाडी सञ्चालनमा ल्याउने भएका छन्। उनले काष्ठमण्डप रोटरी, नेपाल रोटरी डिष्ट्रिक ३२९२ र अष्ट्रेलियन रोटरीसँगको सहकार्यमा बिरामी बोक्ने एम्बुलेन्ससँगै लास जलाउने चेम्बर सुविधासहितको गाडी ल्याउन लागेका हुन्।
यसका लागि प्रधानले रोटरीसँगको सहकार्यमा स्वदेशबाटै ५० हजार डलर जुटाउने भएका छन्। बाँकी एक लाख डलर अष्ट्रेलियन रोटरीले सहयोग गर्ने प्रधानले जानकारी दिए। एम्बुलेन्ससहितको शवदाह सुविधा भएको गाडीमा पूर्वाधार बनाउन सवा दुई करोड रुपैयाँ खर्च हुने प्रधानले जानकारी दिए।
शवदाह मेशिन खरिदका लागि सन्तु हिरालाल ट्रष्टमार्फत प्रधानले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। उक्त ट्रकको डिजाइन काम भइरहेको र एक वर्षभित्र सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
‘काठमाडौँ रोटरीको पहलमा मेरो परिवार र सन्तु हिरा ट्रष्टले ५० हजार डलर (झण्डै ८० लाख रुपैयाँ) लगानी जुटाउने छ। शवदाह गर्ने मेसिन पनि दान गर्ने भएका छौँ,’ उनले भने।
एम्बुलेन्ससहितको शवदाहगृहको सेवा निःशुल्क हुने उनले स्पष्ट पारेका छन्। गाडीमा चिकित्सक र अक्सिजनका साथै तत्काल उपचार सेवा दिने एम्बुलेन्स सिस्टम हुने भएको छ।
गत वर्ष नै सञ्चालनमा ल्याउने तयारी भए पनि विभिन्न कारणले गर्दा ढिलाइ भएको उनले सुनाए। गत वर्ष नै सञ्चालनमा ल्याएको भए यो वर्ष भोटेकोशी त्रिशूली नदीले लेदोसहित बगाएको धैरै लासहरु व्यवस्थापन हुने उनको भनाइ छ।
एम्बुलेन्सभित्र लास जलाउने ग्यास चेम्बर सुविधा भएको गाडी सञ्चालन मुलुकमा पहिलो पटक हुने उनको दाबी छ। ‘भारतमा पनि एक दुईटा होला खासै छैन। नेपालमा यो सुविधासहितको ट्रक पहिलो पटक सञ्चालनमा आउन लागेको हो। ढिलोमा एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने। चार पाँग्रे ट्रकको इन्जिन शक्तिशाली हुने भएकाले नफस्ने उनले बताए।
व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन
उनका अनुसार मोबाइल युनिट काठमाडौँमा बस्नेछ। जुन ठाउँमा विपत्ति हुन्छ, त्यहाँ पुगेर उद्धार, एम्बुलेन्स सुविधाका साथै मृतकको लास जलाउने काम पनि गर्नेछ। ‘हाल गाडीको डिजाइन हुँदैछ। सवा दुई करोड रुपैयाँ लगानी हुनेछ। लास जलाउने मेशिनको जिम्मा मैले लिएको छु। त्यसका लागि मात्र ३५ लाख रुपैयाँ खर्च हुनेछ,’ उनले भने।
गाडी सञ्चालनमा आएपछि आउने दिनमा विपत्ति पर्दा एम्बुलेन्स सेवा,उद्धार सेवा र अर्को लासको सदगद गर्ने सेवा दिनेछ।
‘कोही बिरामी भएको छ वा दुर्घटनाबाट चेटपटक लागेको छ भने एम्बुलेन्स सेवा र मान्छे बितेको छ भने जलाउने सेवा दिनेछ। सडेको लासलाई टाढा लैजानु पर्दैन,’ उनले भने, ‘आज बाढीको विपत्ति भयो। भोली कोभिड जस्ता सरुवा रोग महामारी फैलिन पनि सक्छ। महामारका बेला त्यही लास जलाएपछि किटाणु फैलिने संभावना रहँदैन्। विपत्ति र महामाहारीमा झनै काम लाग्ने भयो।’
प्रधानले बुटबल र बनेपमा शवदाहगृह निर्माण गरि सञ्चालनमा ल्याइसकेका छन्। अन्य स्थानमा पनि शवदाहगृह दान गर्ने योजना रहेको प्रधानले सुनाए। दुई शवदाहगृह पूर्वाधार बनाउन एक करोड ५० लाख खर्च भएको छ।
व्यवसायी प्रधान तथा उनको परिवारले विद्युतीय शवदाह गृह बनाउन १० करोड रुपैयाँ दान दिने घोषणा गरिसकेका छन्। विभिन्न १० स्थानमा शवदाहगृह बनाउन व्यवसायी प्रधानको परिवारले सो रकम दिएको हो।
ज्ञानेन्द्रलालका साथै डा. बिमला प्रधान, नमिता प्रधान, चेतन प्रधान र अबनभ जोशीले ट्रस्टमार्फत सो रकम दान गर्ने भएका छन्।
प्रधानले सामाजिक उतरदायित्व (सिआरएस) अन्र्तगत सो रकम शवदाह गृह बनाउन दान गर्ने घोषणा गरेका हुन्।
प्रधानको जलविद्युत, सेयर बजार र पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी रहेको छ।


