ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै। कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ।

ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्त्वपूर्ण स्रोत हो। जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ। अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। त्यसैले जिल्लाका अधिकांश किसान अलैँची खेतीमा आबद्ध छन्।