काठमाडौँ: पछिल्लो समय जलविद्युतसँगै केबलकारमा लगानी बढिरहेको छ। निजी क्षेत्रबाट एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी गरिसकेका छन्। मुलुकका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ।
यस्तै, निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको छ। केबलकार बनाउन कूल १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पहिलो चरणमा चार अर्ब र दोस्रो चरणमा आठ अर्ब रुपैयाँ लाग्ने बराहक्षेत्र छिन्ताङ केबलकार लिमिटेडका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल क्लिक्सलाई बताए। उनका अनुसार यो होटल परियोजना बाहेकको लगानी हो। होटल बेग्लै कम्पनीबाट निर्माण हुने सुवेदीले जानकारी दिए। पाँचतारे स्तरको रिसोर्ट बनाउन थप चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
अध्यक्ष सुवेदीका अनुसार केबलकारको पहिलो स्पान ३.८ र दोस्रो स्पान ८.४ किलोमिटर लामो हुनेछ। संभवत केबलकार मुलुकको दोस्रो लामो परियोजना हुनेछ। यही समूहले ८० किलोमिटर भन्दा लामो मुक्तिनाथ केबलकार बनाउने तयारीमा छ।
कम्पनीले सरकारलाई डीपीआर बुझाउनेछ। यसपछि प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन (आइईइ) को क्षेत्र निर्धारणका लागि सरकारले अनुमति दिनुपर्ने उनले सुनाए।
‘सरकारले तुरुन्त काम अघि बढाए हामी तयारी अवस्थामा छौँ। केबलकारको काम ढिलो चाँडो हुनुमा हाम्रो कारणले नभइ सरकारको निर्णयमा निर्भर हुनेछ,’ अध्यक्ष सुवेदीले भने।
केबलकारको तल्लो स्टेसन बराहक्षेत्र र माथिल्लो स्टेसन छिन्ताङ रहने प्रस्ताव गरिएको छ। परियोजनाले धार्मिक र पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्य राखेको छ। गत वर्ष कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो।
केबलकारको तल्लो स्टेशन बराह क्षेत्रमा र माथिल्लो छिन्ताङमा बनाउन प्रस्ताव गरिएको छ। केबलकार सञ्चालनमा आएपछि बराह क्षेत्रबाट अठाई घण्टामा हिँडेर गुराँशको राजधानी तीन जुरे पुग्न सकिनेछ।
यस्तै वराहक्षेत्र छिन्ताङ केबलकारको दोस्रो वार्षिक साधारणसभा आउँदो असोज १७ मा हुने भएको छ। साधारणसभाले नगद प्रवाह विवरणका साथै स्पुँजी इक्विटीमा भएको परिवर्तलाई पारित गर्ने भएको छ। कम्पनीले पछि साधारण सेयर (आईपीओ) जारी गर्नेछ।
१६ केबलकार पहिचान
चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको छ। मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन्।
अहिलेसम्म पहिचान भएका १६ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा छन्।
सञ्चालनमा आइसकेका, निर्माणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १६ केबलकारमा मात्र हालसम्म एक खर्ब २० अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ।
हालसम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक, अन्नपूर्ण, मौलाकाली, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा छन। यस्तै जल्पादेवी, पुम्दिकोट महादेव, चम्पादेवी, पाथीभरा, सिकलेस, छिम्केश्वरी, बराहदेखि छिन्ताङ र विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारीमा रहेको छ।
केबलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार, विकट ठाउँमा रहेका मठमन्दिरको संरक्षण, सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप सहयोग पुगेको छ।