काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छलफलमा उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायलगायत विषयमा छलफल भएको छ।
प्रधानमन्त्री शाहले आधा घण्टाको समय दिए पनि करिब २ घण्टा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ढकालले निजी क्षेत्रका मुद्दा, लगानी प्रवर्द्धन, स्वदेशी लगानी एवम् बाह्य लगानीबाट आउने लगानीलाई प्रबर्द्धन गर्ने विषयमा कुरा भएको बताए।
‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै पूर्वाधार बनाउन सरकारको तर्फबाट के कुरा मिलाइदियो भने सहज हिसाबले लगानी हुन्छ र रोजगारी सिर्जना हुन्छ, पूर्वाधार बन्छ, धेरैभन्दा धेरै कर संकलन हुन्छ, त्यसका लागि तपाईंहरूको सुझाव के छ भन्ने प्रधानमन्त्रीको कुरा थियो,’ उनले भने, ‘त्यसमा उत्पादन, निर्यात, जलविद्युत, पर्यटनलगायत नेपालमा निजी क्षेत्रको लगानी रहेका व्यवसायिक क्रियाकलापका विषयमा हामीले राख्यौँ। उहाँले एकदमै सकारात्मक हिसाबले समस्याहरू समाधान गर्छु प्रधानमन्त्रीले भन्नुभयो।’
यस्तै व्यवसायी विदुषी राणााले प्रधानमन्त्री शाहले बाहिरबाट विदेशी लगानी ल्याउने भन्दा पनि नेपालीले नै लगानी गर्नुपर्नेमा पक्षमा रहेको बताएको जानकारी दिइन्। व्यापारीहरूलाई पक्राउ गर्ने क्रम बढ्दा मनोबल घटेको विषय आफूहरूले राखेको उनले बताइन्।
नीतिगत त्रुटिका कारण व्यवसायीले त्यस्तो केही समस्या आएको छ भने व्यवसायीलाई थुन्ने नभई जरिवाना तिराएर काम गर्न दिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको उनको भनाइ छ।


