काठमाडौं – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत आज नेपालले अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ। पाकिस्तानविरुद्ध खेल्ने नेपालीको प्लेइङ ११ सार्वजनिक भएको छ। पाकिस्तानविरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइमा रहेका खेलाडी सार्वजनिक भएका छन।
आजको खेलमा पछिल्लो खेलमा भन्दा प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसले एकपरिवर्तन गरेका छन्। चोटका कारण अन्जन विष्टले आजको खेल गुमाएका छन्। उनी पछिल्लो खेलमा पहिलो रोजाइमा रहेका थिए। यसबाहेक सबै खेलाडी भारतविरुद्धको पहिलो रोजाइमै रहेका खेलाडी रहेका छन्।
एपिएफबाट घरेलु फुटबल खेलेका आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन्। घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका आवासले पहिलो पटक सुरुआति ११ मा अवसर पाएका हुन्।
नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरुस्थित कान्टिरवा स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे सुरु हुँदैछ। नेपाल र पाकिस्तान दुवै टिमको सेमिफाइनल पुग्ने संभावना सकिएकाले यो खेल प्रतिष्ठाको लागि मात्र भएको छ ।
नेपाली टिमको सुरुआती ११ मा गोलकिपर किरणकुमार लिम्बु नै छन् भने डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, शनिस श्रेष्ठ र देवेन्द्र तामाङ रहेका छन्। पाकिस्तानविरुद्ध लकेन लिम्बु, एरिक विष्ट र आवास लामिछानेले भिडफिल्ड सम्हाल्ने छन् भने मनिष डाँगी, आयुष घलान र विमल घर्ती मगर फरवार्ड लाइनमा रहने छन्।


