काठमाडौँ: रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा सहयोग गर्ने क्रम जारी छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा विभिन्न स्रोतबाट ठूलो रकम संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल ती कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका लागि सरकारले यही कोषबाट यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
कोषमा रहेको रकममध्ये विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको कार्यालयले जनाएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालनमा रहेका अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ डलर रहेको छ।
भोटेकोसी बाढीपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग रकम संकलन हुँदै आएको छ। संकलित रकमबाट सरकारले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


