काठमाडौँ– द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौँमा चार दिने ‘एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ।
बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुने प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए अप्रुभ्ड लर्निङ पार्टनर, अप्रुभ्ड एम्प्लोयर तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी हुनेछन्।
प्रतियोगितामा विभिन्न एसीसीए प्रदायक संस्था तथा समुदायको प्रतिनिधित्व गर्ने १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा ब्रिटिश प्रोफेसनल कलेजका दुई, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)का तीन, सीड एकेडेमीका दुई तथा लर्निङ पार्क, ब्राइट एकेडेमी, फिन्ट लर्निङ हब, एम्बार्क कलेज, शिक्ष्या एकेडेमी, जीएनएस एस्ट्रा, स्लुगर्स र एजीके पार्टनर्सका एक–एक टोली रहेका छन्।
बीपीसीका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत एसीसीए समुदायबीच टिमवर्क, नेतृत्व, सञ्चार, नेटवर्किङ र आपसी सम्बन्धलाई थप मजबुत बनाउनु हो। यसले एसीसीए विद्यार्थी, पेशागत जनशक्ति तथा सदस्यलाई कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्ने आयोजकको अपेक्षा छ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ। एसीसीए प्रतियोगिताको शीर्ष प्रायोजक रहेको छ भने आवान ट्रेडिङ, अउज्ट्रिक्स एजुकेसनल हब, शुभम इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले सहयोग गरेका छन्।
