२०८३ कार्तिक ११ गते मङ्गलबार

अलपत्र शीत भण्डार आयोजना: ७ वर्षदेखि न पूर्वाधार बन्यो, न किसानले जग्गा उपभोग गर्न पाए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
dVzE5mmlUa (1)

सिराहा: लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीत भण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए। जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो। न त उक्त जग्गामा शीत भण्डार निर्माण भएको छ न त किसानले जग्गाको उपभोग नै गर्न पाएका छन्।

मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी योजनाका रूपमा विसं २०७५ फागुन ११ गते तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पडरियामा शीतभण्डारको शिलान्यास गरेका थिए।

शीत भण्डार निर्माण भएपछि सिराहा र सप्तरीका किसानले आँप, आलु तथा मौसमी तरकारीलगायत कृषि उपज सस्तो मूल्यमा बिक्री गर्नुपर्ने वा बजार नपाएर खेर फाल्नुपर्ने समस्या हट्ने सरकारको अपेक्षा थियो। सात वर्षपछि निर्माणस्थलमा अधुरा संरचना, झाडी र पशु चराउने ठाउँबाहेक केही बाँकी छैन।

एक हजार ५०० मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणका लागि २०७५ माघ ७ गते सप्तरीको मलेकपुरस्थित शुभनारायण कृषि व्यावसायिक फर्मसँग रु १७ करोड ३२ लाख ७१ हजार ५६ मा सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजनामा प्रदेश सरकारको ८० प्रतिशत र सम्बन्धित फर्मको २० प्रतिशत साझेदारी रहने व्यवस्था थियो।

सम्झौतापछि फर्मले मन्त्रालयबाट पहिलो किस्ताबापत रु एक करोड भुक्तानी लिएको थियो। सो रकमबाट कार्यालय भवनको ‘डिपिसी’ र केही भागमा ‘कम्पाउन्ड वाल’ निर्माणलगायत प्रारम्भिक काम भए पनि त्यसपछि निर्माण अघि बढ्न सकेन।

आयोजना सुरु गर्दा पर्याप्त पूर्व तयारी र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिना प्रक्रिया अघि बढाइएको, लागत अनुमान र कार्यान्वयन प्रक्रियामा कमजोरी देखिएको तथा भुक्तानी र छानबिनका विषय उठेपछि आयोजना अघि बढ्न नसकेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन्।

अधुरो संरचनामै हराउँदै निर्माण सामग्री

निर्माण रोकिएपछि पडरियास्थित शीतभण्डारको संरचना संरक्षणविहीन बनेको स्थानीयको भनाइ छ। निर्माणस्थलमा रहेका फलामे रड चोरी भएको तथा केही पिलर फुटाएर फलाम निकालिएको स्थानीय बताउँछन्।

स्थानीय किसान राजेन्द्रप्रसाद साहले निर्माण स्थल संरक्षणविहीन हुँदा सरकारको लगानीसँगै निर्माण सामग्री नोक्सान भइरहेको बताए। ‘पिलर फुटाएर फलाम निकालिएको छ, बाँकी फलामे रड पनि हराउँदै गएका छन्। सरकारले बनाउने भनेर छाडेको संरचना अहिले संरक्षण गर्ने मान्छे नभएको जस्तो देखिन्छ’, उनले भने।

किसानले भाडा पाएनन्

शीत भण्डार बन्ने आशामा पडरियाका आठ किसानले करिब एक बिघा दुई कट्ठा उब्जाउ कृषि जग्गा ३० वर्षका लागि भाडामा दिएका थिए। प्रतिकट्ठा वार्षिक रु आठ हजारका दरले भाडामा दिइएको उक्त जग्गाको वार्षिक भाडा करिब रु एक लाख ७६ हजार हुने सम्झौता थियो।

निर्माण अलपत्र परेपछि किसानले जग्गाको भाडा मात्र होइन, भाडामा दिएको जग्गामा खेतीपातीसमेत गर्न पाएका छैनन्। स्थानीय किसान सुरतलाल चौधरीका अनुसार नेपाली चौधरी, सियाराम चौधरी, जीवन चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी, अन्तिलाल चौधरी, बिन्तीलाल चौधरीसहित आठ जनाले शीत भण्डार निर्माणका लागि जग्गा भाडामा दिएका थिए।

जग्गादाता नेपाली चौधरीले शीतभण्डारका लागि जग्गा दिएको सात वर्षदेखि भाडा नपाएको बताए। उनका अनुसार अहिलेसम्म रु १२ लाखभन्दा बढी भाडा पाउन बाँकी छ। ‘शीत भण्डार बनाउने भनेकाले जग्गा दियौँ। न शीत भण्डार बन्यो, न भाडा आयो। खेतीपाती गर्न पाएनौँ’, उनले भने।

जग्गादाता जीवन चौधरीले आफूले साढे चार कट्ठा उब्जाउ जग्गा शीत भण्डार निर्माणका लागि दिएको बताए। निर्माणको जिम्मा पाएको फर्मका सञ्चालकलाई खोज्दै राजविराजसम्म पुगे पनि भेट्न नसकेको र फोन सम्पर्कसमेत हुन नसकेको उनको भनाइ छ। ‘न संरचना बन्यो, न जग्गाको भाडा आयो। न त खेतीपाती गर्न पाइयो। अहिले जङ्गल र झाडी मात्रै बाँकी छ’, उनले भने।

प्रदेशका आठ शीतभण्डारको अवस्था उस्तै लहानको आयोजना मात्र होइन, मधेस प्रदेश सरकारले आव २०७५/७६ देखि अघि बढाएका अधिकांश शीत भण्डार आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्। प्रदेशका सात जिल्लामा आठ शीत भण्डार निर्माणका लागि करिब रु एक अर्ब ७९ करोड ९३ लाख बराबरको सम्झौता भए पनि अधिकांश आयोजना फाउन्डेसन, माटो फिलिङ र कम्पाउन्ड वालमै सीमित छन्।

धनुषाको लक्ष्मीनियाँमा एक हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जनहित कृषक समूहसँग रु १६ करोड ६५ लाखमा सम्झौता भएको थियो। समूहका अध्यक्ष ललितनारायण यादवका अनुसार कृषकको लगानी रहेको उक्त आयोजनामा हालसम्म करिब रु तीन करोड खर्च भए पनि प्रदेश सरकारबाट रु ८१ लाख ५० हजार मात्र प्राप्त भएको छ।

पर्साको वीरगन्ज–२६ सुगौलीमा पाँच हजार मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणका लागि शिवम् एग्रो इन्डस्ट्रिजसँग रु २७ करोड ८२ लाख ९९ हजारमा सम्झौता भएको थियो। त्यहाँ प्रारम्भिक ‘लेआउट’को कामभन्दा अरू अघि बढेको छैन। वीरगन्जकै अर्को आयोजनामा ग्लोबल लेदर ट्रेडिङ इन्डस्ट्रिजसँग रु १७ करोड ११ लाखमा सम्झौता भए पनि कम्पाउन्ड वालसम्मको काम भएको छ।

बाराको सिम्रौनगढमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि अमन मत्स्य फार्मसँग रु २४ करोड ७४ लाख ८४ हजारमा सम्झौता भएको थियो। त्यहाँ फाउन्डेशनसम्मको काम भएको छ। रौतहटको गरुडा–१ मा राष्ट्रिय हर्बल प्रोसेसिङ प्रालिसँग रु २६ करोड ८५ लाखमा सम्झौता भएको आयोजना पनि अलपत्र छ।

सर्लाहीको बरहथवा–५ मा एक हजार ५०० मेट्रिकटन क्षमताको शीतभण्डारका लागि लवकुश बचत तथा ऋण सहकारी संस्थासँग रु १८ करोड ३५ लाखमा सम्झौता भएको थियो। त्यहाँ माटो फिलिङ र फाउन्डेशनबाहेक काम हुन सकेको छैन।

सप्तरीको राजविराज–भल्हीमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जिल्ला सहकारी संस्थासँग रु ३१ करोड पाँच लाखमा सम्झौता भएको थियो। साठी प्रतिशत काम सम्पन्न भएको दाबी गरिए पनि आयोजना अझै सञ्चालनमा आएको छैन। यस आयोजनामा सङ्घीय सहकारी विभागबाट रु सात करोड १७ लाख र प्रदेश सरकारबाट रु एक करोड चार लाख भुक्तानी भइसकेको छ।

लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले राजनीतिक स्वार्थका आधारमा आयोजना छनोट गर्ने, बजेट विनियोजन गर्ने तर कार्यान्वयनको जिम्मेवारी र जबाफदेहितामा बेवास्ता गर्ने प्रवृत्तिले विकास आयोजना अलपत्र पर्ने गरेको बताए।

उनका अनुसार योजना छनोटदेखि ठेक्का, सम्झौता र बजेट खर्चसम्मका प्रक्रियामा राजनीतिक प्रभाव, अनियमितताले स्थान पाउँदा आयोजना समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिन्छ। ‘आयोजना छनोट हुन्छ, बजेट पनि खर्च हुन्छ तर वर्षौँसम्म सम्पन्न हुँदैन भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ’, उनले भने, ‘यस्ता आयोजना अलपत्र पर्नुमा राजनीतिक स्वार्थसँगै कार्यान्वयनमा हुने ढिलासुस्ती, अनियमितता र कमजोर जबाफदेहिता पनि जोडिएको हुन्छ।’

अख्तियार र महालेखाको प्रश्न

शीत भण्डार निर्माणका क्रममा योजना छनोट, लागत निर्धारण, सम्झौता तथा भुक्तानी प्रक्रियामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो।

विसं २०७९ मा पडरियासहित प्रदेश सरकारले विभिन्न जिल्लामा अघि बढाएका शीत भण्डार आयोजनामा अनियमितता भएको उजुरी परेपछि सम्बन्धित फाइल मन्त्रालयबाट झिकाएर अनुसन्धान गरिएको थियो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सञ्जयकुमार यादवका अनुसार शीत भण्डार निर्माणका क्रममा भएका केही भुक्तानीलाई महालेखापरीक्षक र अख्तियारका प्रतिवेदनमा बेरुजुका रूपमा औँल्याइएको छ।

आयोजना कार्यान्वयनमा देखिएका कानुनी तथा नीतिगत जटिलताका कारण प्रदेश सरकारले आवश्यक निर्णय नगरेसम्म आयोजना अघि बढाउने वा नयाँ ढङ्गले व्यवस्थापन गर्ने विषयमा स्पष्ट दिशा आउन कठिन रहेको उनले बताए।

त्यस्तै, मन्त्रालयका प्रवक्ता मनिषकुमार पालका अनुसार तत्कालीन प्रदेश सरकारले विभिन्न जिल्लामा सुरु गरेका शीत भण्डारसम्बन्धी केही विषय अदालतमा विचाराधीन छन्।

‘शीत भण्डार प्रदेशको गौरवको योजना भए पनि यो धेरै गिजोलिएको छ। विगतमा धेरै कमीकमजोरी देखिएका छन्’, उनले भने, ‘यसलाई अब अगाडि बढाउन प्रदेश सरकारले कानुनी र नीतिगत निर्णय लिनुपर्छ। नत्र सम्भव छैन।’

प्रकाशित: २०८३ असोज ६ गते मङ्गलबार १०:४१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना