काठमाडौँ: त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ।
‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन्। हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ। हामी निरन्तर अध्ययनमा छौं, आज दिनभरमा पहिचान पत्ता लगाउने छौं,’ सुवेदीले भने।
जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको भएपनि दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई थप तिब्र बनाएको छ।
सामाजिक संजालमा आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाएको साथै बससँग सम्बन्धित व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो।
बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको थियो तर लाइसेन्स दुरुपयोगको भएको अनुमान गरिएको छ।
आगलागीमा घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।







