सोल- दक्षिण कोरियालीहरूको उमेर एकैपटक कम्तीमा एक वर्ष कम भएको छ। बुधबार कार्यान्वयनमा ल्याइएको उमेर गणनासम्बन्धी नयाँ कानुनले सबै देशबासीको उमेर एकैपटक कम्तीमा पनि एक वर्ष कम गराएको हो।
दक्षिण कोरियाले राष्ट्रबासीको उमेर गणना प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाएसँगै एक वर्ष कम भएको हो। नयाँ कानुनले शताब्दी पुरानो जन्ममिति गणना प्रणालीलाई खारेज गरी आधुनिक विधि अवलम्बन गरेको हो।
दक्षिण कोरियालीहरू गर्भ बसेको अवधिलाई पनि उमेरमा जोड्ने गर्दथे। यस्तै आफ्नो वास्तविक जन्मदिनको सट्टा प्रत्येक वर्ष जनवरी १ मा एक वर्ष पुग्ने मान्यता राखिँदै आएको थियो। अब यी दुवै मान्यता भत्काएर नयाँ वैज्ञानिक उमेर गणना विधि अवलम्बन गरिएको छ। यी दुवै मान्यताका कारण अन्तर्राष्ट्रिय मान्यतामा केही व्यक्तिको त दुई वर्ष उमेर बढी हुने गरेको थियो। अब नयाँ प्रणालीअनुसार त्यस्ता व्यक्तिको उमेर दुई वर्षसम्म कम हुने बीबीसीले समाचार प्रसारण गरेको छ।
राष्ट्रपति युन सुक-योलले गत चुनावका बेला उमेर गणना विधि परिवर्तनलाई मुद्दा बनाएका थिए। ‘विश्वका धेरै देशले अस्वीकार गरेको उमेर-गणना विधिले अनावश्यक सामाजिक र आर्थिक दायित्व सिर्जना गरेको छ,’ उनले भनेका थिए, ‘यसलाई संशोधन गर्न आवश्यक छ।’ बीमा भुक्तानी र सरकारी सहायता कार्यक्रमका लागि उमेरका कारण दायित्व बढेको भन्दै यो विषयमा दक्षिण कोरियामा बहस हुँदै आएको थियो।
जनवरी २०२२ मा स्थानीय फर्म ह्यान्कुक रिसर्चले गरेको सर्वेक्षण अनुसार प्रत्येक चार जनामध्ये तीन जना दक्षिण कोरियाली उमेर गणनाको पुरानो प्रणाली परिवर्तनको पक्षमा थिए। गत डिसेम्बरमा परम्परागत उमेर गणना विधि खारेज गर्ने पक्षमा सांसदहरूले मतदान गरेका थिए।
यद्यपि नयाँ प्रणाली सबै क्षेत्रमा भने लागू नहुने भएको छ। चुरोट र रक्सी किन्नको लागि कानुनी उमेर अपरिवर्तित रहनेछ। अनिवार्य सैन्य सेवा र स्कुल भर्नाका लागि पनि पुरानै प्रणालीलाई मान्यता दिइनेछ।
आमाको गर्भमा बिताएको समयलाई व्यक्तिको जीवनको पहिलो वर्ष मान्ने पुरानो प्रणाली पूर्वी एसियाका अन्य देशहरूले पनि प्रयोग गर्थे। तर धेरैजसोले यसलाई हटाएका छन्। जापानले सन् १९५० मा उमेर गणनाका विषयमा अन्तर्राष्ट्रिय मापदण्ड अपनायो भने उत्तर कोरियाले सन् १९८० को दशकमा नयाँ प्रणाली अपनाएको थियो।


