काठमाडौ । भारी वर्षाका कारण गण्डकी प्रदेशका नदी जलाधार (बेसिन) क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको हो।
विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरणअन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको बताए।
उनकाअनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरुलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले समन्वय गरिरहेको छ।
बिहीबार बेलुकी बसेको विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरुलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताए। प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाई समन्वय भइरहेको जानकारी दिए।
भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सवस्टेसनमा क्षति पुगेर १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउनसक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।


