काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति पछिल्लो समय नक्कली शरणार्थी प्रकरण र सरकारी जग्गा निल्ने बालुवाटार काण्डको फाइल खोलेपछि जनस्तरबाट थोरै भए पनि सहानुभूति पाउन थालेका छन्। प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनको पक्ष र भ्रष्टाचारविरुद्धको अभियानमा रहेकाले थप जनसमर्थन आवश्यक भएको बताएका छन्।
आगामी आव २०८०/८१ को बजेट पारित गर्ने अन्तिम दिन आज राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उनले सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन्। उनले भने, ‘सुशासन सरकारको प्रतिबद्धता हुनेछ। जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो। अहिले त्यसमा सुधार भएको छ। अझ बढी जनसमर्थन चाहियो। हाइ प्रोफाइल व्यक्ति कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ।’
नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश सरकारले दिएको प्रधानमन्त्री प्रचण्डको दाबी छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका लागि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्ने अवस्था आइसकेको उनले बताए। उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको पनि बताए। ‘मलाई अझै बढी समर्थन चाहिएको छ। यो लडाइँमा सदन र जनताको पनि हौसला र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने।


