काठमाडौँः थोरै पुँजीबाट नियमित लगानी गर्न चाहनेका लागि खुलामुखी सामूहिक लगानी कोष र सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) लोकप्रिय लगानी माध्यम बन्दै गएका छन्।
गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट हालसम्म १४ वटा खुलामुखी योजनामध्ये तीनवटाले मात्रै नगद लाभांश घोषणा गरेका छन्। यसले खुलामुखी फन्डबाट तत्काल प्राप्त हुने नगद प्रतिफलबारे लगानीकर्ताको चासो बढाएको छ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा एनएमबी सरल बचत फन्ड–ई अगाडि छ। उक्त योजनाले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले ४.७० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। हालसम्म सञ्चालनमा रहेका १४ योजनामध्ये २१ प्रतिशतले मात्रै गत आर्थिक वर्षको नाफाबाट नगद प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।
म्युचुअल फन्डले सर्वसाधारणबाट संकलन गरेको रकमको ठूलो हिस्सा धितोपत्र बजारमा लगानी गर्छन्। त्यसैले सेयर बजारको अवस्था, लगानी गरिएको कम्पनीको प्रदर्शन र बजारमा आएको उतारचढावले फन्डको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्छ।
बजारमा राम्रो वृद्धि हुँदा फन्डको पोर्टफोलियोको मूल्य बढ्न सक्छ भने बजार सुस्त हुँदा आम्दानी र वितरण गर्न सकिने नाफामा दबाब पर्न सक्छ।
तर, खुलामुखी योजनाको प्रदर्शनलाई केवल नगद लाभांशको आधारमा मूल्यांकन गर्न भने नमिल्ने जानकारहरूको भनाइ छ। खुलामुखी फन्डमा लगानीकर्ताको वास्तविक प्रतिफल हेर्दा योजनाको नेट एसेट भ्यालु (न्याभ) मा भएको परिवर्तन पनि महत्वपूर्ण हुन्छ।
फन्डले कमाएको रकम तत्काल लाभांशका रूपमा वितरण नगरी पुनः लगानी गरेको अवस्थामा त्यसको प्रभाव योजनाको न्याभमा देखिन सक्छ।
साउन महिनाको तथ्यांकले केही खुलामुखी योजनाको न्याभ तुलनात्मक रूपमा राम्रो रहेको देखाउँछ। माछापुच्छ्रे एसआईपी योजनाको न्याभ ११ रुपैयाँ ६८ पैसा छ।
त्यस्तै, कुमारी सुनौलो लगानी योजनाको न्याभ ११ रुपैयाँ १७ पैसा र प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको १० रुपैयाँ ८५ पैसा छ। कोषको आकारका आधारमा सबैभन्दा ठूलो फन्ड सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको न्याभ १० रुपैयाँ ६२ पैसा कायम भएको छ।
खुलामुखी फन्डमा इकाइको खरिद तथा बिक्री न्याभकै आधारमा हुने गर्छ। त्यसैले बन्दमुखी म्युचुअल फन्डमा जस्तो बजारमा कारोबार हुने मूल्य र न्याभबीच ठूलो अन्तर रहने अवस्था सामान्यतया हुँदैन। यसले खुलामुखी योजनालाई नियमित रूपमा निश्चित रकम लगानी गर्ने लगानीकर्ताका लागि फरक विशेषता भएको लगानी माध्यम बनाएको छ।
विशेषगरी एसआईपीमार्फत हरेक महिना निश्चित रकम लगानी गर्नेहरूका लागि तत्कालको नगद लाभांश भन्दा लामो अवधिमा लगानीको मूल्य कसरी बढिरहेको छ भन्ने विषय बढी महत्वपूर्ण हुन सक्ने जानकार बताउछन्।
‘खुलामुखी म्युचुअल फन्डमा लाभांश मात्रै हेरेर लगानीको मूल्यांकन गर्नु हुँदैन। फन्डको न्याभ वृद्धि, लगानीको संरचना र दीर्घकालीन प्रतिफल पनि हेर्नुपर्छ,’ एक योजनाका संस्थापकले नेपाल क्लिक्सलाई भने ।
उनका अनुसार एसआईपीको अवधारणा नै बजारको उतारचढावबीच नियमित रूपमा लगानी गर्दै लामो अवधिमा सम्पत्ति निर्माण गर्नु हो। त्यसैले लाभांश नदिएका योजनालाई मात्रै कमजोर प्रदर्शन गर्ने योजनाका रूपमा बुझ्नु उचित हुँदैन। कुनै योजनाले लाभांश वितरण नगरे पनि उसको न्याभ बढेको हुन सक्छ।
अर्कोतर्फ, लाभांश वितरण गरेको योजनाको पनि समग्र प्रतिफल अन्य योजनाभन्दा फरक हुन सक्छ। लगानीकर्ताले लाभांशसँगै न्याभमा भएको वृद्धि, पुनःलगानी, व्यवस्थापन तथा अन्य खर्च, पोर्टफोलियोको संरचना र दीर्घकालीन प्रतिफललाई समेत तुलना गर्नुपर्ने उनले बताए।
उनका अनुसार खुलामुखी फन्डमा लगानी गर्दा ‘कति प्रतिशत लाभांश दियो?’ भन्ने प्रश्नसँगै ‘लगानीको मूल्य कति बढ्यो?’ भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ। विशेषगरी लामो अवधिका लागि एसआईपी गर्ने लगानीकर्ताले एउटै वर्षको लाभांशभन्दा योजनाको दीर्घकालीन प्रदर्शनलाई आधार बनाउनुपर्ने देखिन्छ।
यस वर्षको तथ्यांकले हालसम्म अधिकांश खुलामुखी योजनाबाट नगद लाभांश घोषणा नभएको देखाए पनि त्यसलाई मात्र आधार बनाएर योजनाको समग्र प्रदर्शन कमजोर रहेको निष्कर्ष निकाल्न मिल्दैन।
योजनाको न्याभ, लगानी रणनीति, जोखिम, खर्च र विगतको कुल प्रतिफलसमेत हेरेर मात्र वास्तविक अवस्था बुझ्न सकिन्छ। त्यसैले खुलामुखी फन्डमा लगानी गर्नेहरूका लागि आगामी दिनमा लाभांशभन्दा पनि दीर्घकालीन कुल प्रतिफल र न्याभको वृद्धिमा बढी ध्यान दिनुपर्ने देखिन्छ।


