काठमाडौँः सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मधेश प्रदेशका सीमा क्षेत्रमा हुने सीमा अपराध, अवैध गतिविधि तथा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
असोज १५ गते मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको अनुगमन गर्दै महानिरीक्षक पौडेलले मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा बेसमा कार्यरत सुरक्षाकर्मीलाई सीमा सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा उनले सीमासँग सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा सुरक्षा र समसामयिक विषयमा भइरहेका गतिविधिबारे जानकारी लिएका थिए। सीमा क्षेत्रमा खटिएका कमाण्डरलाई अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ बनाउन उनले निर्देशन दिए।
महानिरीक्षक पौडेलले सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणका लागि समयमै आवश्यक योजना बनाएर परिचालन हुनुपर्नेमा जोड दिए। उनले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै समन्वय, जिम्मेवारी र उच्च सतर्कताका साथ काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीय बासिन्दासँग सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उनले बताए। सीमा वारपार गर्ने सर्वसाधारणलाई अनावश्यक कठिनाइ नहुने गरी सुरक्षा व्यवस्थापन गर्न पनि उनले निर्देशन दिएका छन्।
त्यसैगरी, वर्षायाममा बाढी, डुबानलगायत विपद्का घटना हुनसक्ने भएकाले तत्काल उद्धारमा परिचालन गर्न सकिने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्न पौडेलले निर्देशन दिए।
अनुगमनकै क्रममा महानिरीक्षक पौडेलले धनुषास्थित जटही सीमा नाकाको समेत निरीक्षण गरेका थिए। उनले स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा सुरक्षा, शान्ति सुरक्षा तथा स्थानीय समस्याबारे जानकारी लिएका थिए।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार महानिरीक्षक पौडेलको निरीक्षण तथा निर्देशनको उद्देश्य सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका सुदृढ गर्नु रहेको छ।


