काठमाडौँः भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुनसहितका विभिन्न गहना बरामद गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा ती गहना बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय टोलीले बुधबार राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ निवासी ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको थियो।
शंकास्पद अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी नायब निरीक्षक लालबहादुर केसीको नेतृत्वमा तीन सदस्यीय टोलीसमेत बोलाएर संयुक्त रूपमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा पटेलको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट निर्मित विभिन्न डिजाइनका गहना बरामद भएका थिए।
सशस्त्र प्रहरीका अनुसार बरामद गहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको थियो। सुनचाँदी व्यवसायी संघ रुपन्देहीमार्फत परीक्षण गराउँदा त्यसमा एक किलो सुन रहेको पुष्टि भएको हो। परीक्षणपछि सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको प्रहरीले जनाएको छ।
बरामद गहनामा विभिन्न डिजाइनका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाला, टप, नाकफूली तथा ब्रेसलेटलगायतका सामग्री रहेका छन्।
सशस्त्र प्रहरीले पक्राउ परेकी पटेल र बरामद गहनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ।
बरामद सुनको स्रोत, भन्सार प्रक्रिया तथा नेपाल ल्याउनुको उद्देश्यबारे भन्सार कार्यालयबाट थप अनुसन्धान हुने बताइएको छ। बेलहिया नाकामा पछिल्लो समय सुन तथा अन्य बहुमूल्य वस्तुको अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइएको छ।


