काठमाडौँः बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार असोज २१ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणका लागि बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सहभागी संस्थाले आफूले राख्न चाहेको रकमसँगै ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म रकमका लागि बोलकबोल गर्न सक्नेछ। बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता थुप्रिँदा त्यसलाई व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत रकम खिच्ने गर्छ। यसरी प्रणालीबाट रकम खिच्दा बैंक तथा वित्तीय संस्थासँग तत्काल उपलब्ध लगानीयोग्य रकम घट्ने भएकाले अधिक तरलता व्यवस्थापन गर्न यो मौद्रिक उपकरण प्रयोग हुन्छ।
यसपटक २८ दिन अवधिका लागि राष्ट्र बैंकमा राखिएको रकमको साँवा तथा ब्याज कात्तिक १८ गते सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरिनेछ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, कर्जा मागको तुलनात्मक सुस्तता लगायतका कारण अधिक तरलता देखिँदै आएको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
