काठमाडौं। आउँदो दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। दसैं मान्न घर फर्किने यात्रुका लागि शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको हो।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेर शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलाएको जनाएको छ।
लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।
बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ।
तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या भए सहायता कक्ष तथा १०० नम्बरमा ट्राफिक प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।
अग्रिम टिकट बुकिङ खुलेपछि बिहानैदेखि बसपार्कमा यात्रुहरूको भिड लागेको छ।
टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरुका यात्रुहरु विहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए।
दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ ।


