काठमाडौं। देशभरका प्रमुख नदीनालाहरूमा पानीको बहाव हाल सतर्कता तहभन्दा तल सामान्य अवस्थामा रहेको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज सबै मुख्य नदीहरूमा जलसतह सामान्य घटबढको स्थितिमा रहेको छ।
महाशाखाको पूर्वानुमान अनुसार आज देशभर बाढीको आकस्मिक जोखिम न्यून रहेको छ। यद्यपि, भोलि (आइतबार) भने केही नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने प्रक्षेपण गरिएको छ।
भोलि कोशी जलाधारअन्तर्गत तमोर (माझिटार र त्रिवेणी) तथा अरुण नदी (तुर्किघाट र सिम्ले) मा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।
यस्तै, नारायणी जलाधारअन्तर्गत बुढीगण्डकी (आरुघाट) र मर्स्याङ्दी (भकुन्डेबेसी र विमलनगर) तथा महाकाली नदी (दत्तु र पारिगाउँ) मा पनि पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
सप्तकोशी, त्रिशुली, कर्णाली, बाग्मती, पश्चिम राप्ती, बबई तथा कमला लगायतका अन्य प्रमुख नदीहरूमा भने आगामी केही दिनसम्म बहाव सामान्य घटबढमै रहनेछ।
महाशाखाले देशभरका अधिकांश स–साना नदीहरूमा समेत बहाव सामान्य रहने र तत्काल आकस्मिक बाढी (फ्ल्यास फ्लड) को ठूलो जोखिम नरहेको स्पष्ट पारेको छ।


