काठमाडौँः भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीहरूले कर्जा भुक्तानीका लागि थप समय पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसाय तथा परियोजनालाई लक्षित गर्दै असोजमा तिर्नुपर्ने कर्जा किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई परिपत्र जारी गर्दै बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीलाई यस्तो सुविधा दिन सक्ने व्यवस्था गरेको छ।
विशेषगरी रसुवा भन्सार नाकाबाट हुने आयात–निर्यातमा आधारित व्यवसायसमेत यस व्यवस्थाबाट लाभान्वित हुनेछन्।
बाढीका कारण बिक्री तथा आम्दानीमा कमी आएको, नगद प्रवाह प्रभावित भएको वा व्यवसायमा रहेको जगेडा रकममा असर परेको कारण कर्जा किस्ता तिर्न कठिन भएका ऋणीको अवस्था सम्बन्धित बैंक तथा वित्तीय संस्थाले यथार्थपरक रूपमा विश्लेषण गर्नुपर्नेछ।
त्यसपछि कर्जा सदुपयोगिताको अवस्था हेरी २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याजको किस्ता २०८३ पुस मसान्तसम्म सार्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अन्तर्गत प्राप्त अधिकार प्रयोग गरी एकीकृत निर्देशन संशोधन गरेर लागू गरिएको हो।
यस व्यवस्थाले बाढीका कारण अस्थायी रूपमा आम्दानी तथा नगद प्रवाह गुमाएका व्यवसायीलाई तत्काल कर्जा भुक्तानीको दबाब कम गर्ने अपेक्षा गरिएको छ। तर सुविधा स्वतः सबै ऋणीलाई लागू हुने नभई बाढीबाट परेको असरको मूल्यांकनका आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्णय गर्नेछन्।


