काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ।
दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि प्रदर्शन भएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले ९ दिनमा १० करोड २० लाख रुपैयाँको कमाइ गरेको निर्माता मणिराम पोखरेलले जानकारी दिए।
शनिवार काठमाडौँ उपत्यकामा फिल्म हेरेका दर्शकसँग कलाकारसहित साक्षात्कार गर्न पुगेका निर्माता पोखरेलले फिल्मले कमाइसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।
‘हामीलाई विश्वास गरेर फिल्म हेर्न आउनु भएका दर्शक फर्किंदा सन्तुष्ट भएको पाएका छौँ। हामी दर्शक प्रतिक्रिया बुझ्न नै विभिन्न हलमा पुगिरहेका छौँ। यसले हामीलाई दर्शकसँग प्रत्यक्ष जोड्छ’, उनले भने।
निर्माता पोखरेलका अनुसार कलाकारसहितको टोली मोफसल यात्रा गर्दै पोखरासहित विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गर्नेछन्। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा बलियो पकड कायम राखेको हो।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए। पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।







