पोखरा- गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ। बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरे।
बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन्।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उपस्थित भने अनुपस्थित छन्। उनी प्रदेशभाबाट विश्वासको मत लिने प्रक्रियामा छन्। यो समाचार तयार पार्दाको समयमा उनले पेस गरेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान भइरहेको छ।
बैठक उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिए।
‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु,’ उनले भने, ‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ।’
प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको र प्रदेश मुख्यमन्त्रीहरूसमेतको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएकोसमेत सो अवसरमा जानकारी दिए।

सम्मेलनमा गण्डकीका मुख्यमन्त्री शर्मा।


