झापा– मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ। मेचीनगरले पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए।
यो सडक १९ किलोमिटर लामो छ। यसअघि यो सडक मेची करिडरको रुपमा परिचित थियो। यसैगरी, पूर्व–पश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘सहिद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए।
मेचीनगर नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो। २१ फागुन २०२९ मा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित सुखानी जंगलमा पञ्चायती शासकले गोली हानी कम्युनिस्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए। झापा विद्रोहको क्रममा भएको सो घटनामा राजवंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो। सरकारले सहिदको रुपमा सम्मान दिइसकेको छ।
सहिद वीरेन राजवंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ। त्यसैगरी सहिद विश्वनाथ घिमिरेलाई ‘झापाका प्रथम सहिद’को रुपमा सम्मान दिइँदै आएको छ। कांग्रेस नेताको रुपमा तत्कालीन बाहुनडाँगीको जनपक्षीय प्रधानपञ्च निर्वाचित घिमिरेलाई पञ्चायती शासकले ३१ जेठ २०१९ मा निन्दा खोलाको किनारमा बाटो छेकी गोली हानी हत्या गरेका थिए।
सहिद राजवंशीको ज्यामिरगढीमा र सहिद घिमिरेको बाहुनडाँगीमा प्रतिष्ठान तथा शालिक निर्माण भएको छ। आफ्ना हजुरबुबाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको सहादतको मूल्यांकन गर्दै नगरपालिकाले सडकको नामकरण गरेकोमा सहिद विश्वनाथ घिमिरेका नाति पंकज घिमिरेले धन्यवाद व्यक्त गरे।



