नुवाकोट– गर्मीमा छल्न मानिसहरु पानीमा खेल्न मन पराउँछन्। र्याफ्टिङ्ग, पौडी, क्यानोनिङ गर्मीका मुख्य गन्तव्य हुन्। पछिल्लो समय नेपालमा क्यानोनिङ ट्रेन्ड पनि विस्तार हुन थालेको छ।
नुवाकोटको ककनी गाउँपालिका-४ स्थित फुङफुङ्गेमा झरनामा असार १० गते आइतबार क्यानोनिङ मेला भयो। सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीय लगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकरुको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन्।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह-आयोजनामा कार्यक्रम भएको थियो।
काठमाडौँदेखि करिब २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो।
ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए।

साहसिक खेल मन पराउनेलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सनछहरे, ठुल छहरे , महभीरलगायतका झरनाहरुमा हप्तौँसम्म क्यानोनिङको मज्जा लिन सकिने समेत उनले जानकारी गराए।
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ्ग झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिदै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ। गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ। नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ।
छाँगावरोहणका लागि आँट र धैर्यता चाहिन्छ। विशेष पोशाक र जुत्ता चाहिन्छ। हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ। फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ।
खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिझ्दै रमाईलो गर्न क्यानोनर आफैंले ब्रेक लगाउन सक्छ।
क्यानोनिङ गर्नुअघि गाइडहरुद्वारा कसरी खेल्ने भनेर सिकाउछन्। जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, सुरुमा केही डर हुन सक्छ। रोमाञ्चक अनुभूति मिल्ने भएकाले मानिसहरू पटकपटक छाँगावरोहण गर्न रुचाउँछन्।

नेपाल क्यानोनिङ एसोसिएसन (एनसीए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका, युरोप र एसियाका विभिन्न देशमा यो खेललाई ‘एडभेन्चर हिलिङ’ का रुपमा प्रवर्धन गरिएको छ। ‘क्यानोनिङले तनावबाट मुक्ति, आत्मविश्वास बढाउँछ र पानीको बहावले आनन्द मिल्छ।’
एनसीएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ। काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लम्जुङको मर्स्याङदी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकका भोटेकोसी, धनकुटाको नमस्ते झरना, चितवानको जलजले, ओखलढुंगाको पकवली, धादिङको थाक्रे, लगायतका झरनाहरुमा सम्भाव्यता अध्ययन गरिसकेको छ। त्यसबाहेक स्याङ्जा, पर्वत , मनाङ, र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उनी बताउँछन्।

झरनैझरनाको देश नेपालमा ‘छाँगावरोहण’ खेलको प्रचुर सम्भावना रहेको लामा बताउँछन्। क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरुलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ।












नेपाल फोटो लाइब्रेरी


